सुखड : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले पार्टीमा कुनै परिवारवाद नरहेको जिकिर गरेका छन् ।
पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर बुवा लालवीर चौधरीलाई अध्यक्ष बनाएपछि चरम परिवारवादको आरोप खेपिरहेको बेला नाउपा संरक्षक रेशमलाल चौधरीले पार्टीमा कुनै परिवारवाद नरहेको जिकिर गरेका हुन् । उनले आफ्नो पार्टी आमजनताको आशु र पीडाबाट जन्मेको पार्टी रहेको दाबी गरे ।
शनिबार कैलालीको सुखडमा आयोजित संघीय लोकतान्त्रिक मोर्चाको वर्तमान राजनीतिक अवस्थाबारेको जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी उत्पीडित वर्गको उत्थानको लागि जन्मेको पार्टी भएको दाबी गरेका हुन् ।
उनले भने, ‘जब साँझ हुन्छ तब फोन गरेर सोध्छन्, दादा पार्टीमा के भयो ? यो के हुँदैछ । अनि म संघर्ष गरिरहेकै हुन्छु । कहिले हार्छु, कहिले जित्छु । कसैले भन्छन् यो पार्टी ओरागिल (सकियो)। अब चल्दैन, सिद्धिगायो । जब म प्रवासमा गए, तब झन यो सकियो भन्थे । तर नागरिक उन्मुक्ति पार्टी जिन्दावाद ।’
उनले अगाडि थपे, ‘नागरिक उन्मुक्ति पार्टी २०८४ मा बस्ती–बस्ती, टोल–टोलबाट विजयी जुलुस निकाल्ने छ । हरेक कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुको लस्कर छ । यो पार्टीमा कुनै परिवारवाद छैन । रेशम–रञ्जिताको होइन । नागरिक उन्मुक्ति पार्टी हाम्रो पीडाको पार्टी हो । आशुबाट जन्मेको पार्टी हो ।’
त्यस्तै पार्टी संरक्षक चौधरीले नाउपाको ढकिया देखेर ठूला दल र सरकार डराएको पनि उनको भनाइ थियो ।
