धनगढी : राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले कैलाली कारागारमा कैदीबन्दीहरुबीच भएको झडपको घटना राज्यको चरम लापरवाहीले घटेको दाबी गरेको छ ।
पार्टीका प्रवक्ता रविन्द्र कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै कारागार प्रशासनको गम्भीर सुरक्षा लापरवाही र राज्यको उदासीनताका कारण सो घटना घटेको दाबी गरेको हो ।
गत शुक्रबार राति कैलाली कारागारमा कैदीबन्दीहरूको दुई समूहबीच भएको हिंसात्मक झडपमा भरत चौधरीको असामयिक निधन भएको छ भने ४८ जना घाइते भएका छन् । यस घटनाप्रति सो पार्टीले गहिरो शोक, आक्रोश र न्यायको माग गर्दै कडा प्रतिक्रिया जनाएको हो ।
राष्ट्रिय मुक्ति पार्टीले यो घटनालाई अचानक भएको झडप भन्दै लुकाउन खोज्ने प्रयासलाई अस्वीकार गर्दै गृह प्रशासनलाई सम्पूर्ण जिम्मेवारी लिनुपर्ने चेतावनी दिएको छ । स्वतन्त्र तथा निष्पक्ष छानबिन आयोग गठन गरी घटनाका सम्पूर्ण कारण र दोषीहरूको पहिचान गर्न, दोषीलाई राजनीतिक वा प्रशासनिक संरक्षण बिना कानूनी कारवाहीको दायरामा ल्याउन, घाइते कैदीबन्दीहरूको तत्काल उपचार र स्वास्थ्य सुरक्षा सुनिश्चितता गर्न, देशभरका कारागारमा सुरक्षा, स्वास्थ्य र मानवअधिकार मापदण्डअनुसार सुधार सुरु गर्न, मृतक भरत चौधरीका परिवारलाई उचित राहत र दीर्घकालीन न्यायको सुनिश्चितता गर्न, गृह प्रशासन गम्भीररूपले असफल भएकाले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिन समेत माग गरिएको छ ।
कारागारलाई प्रतिशोध र यातनाको थलो होइन, सुधार र पुनर्जागरणको स्थल बनाउन समेत राज्यसँग आग्रह गरिएको छ ।

