बिहिबार, बैशाख ३, २०८३

अस्पतालबाटै लक्ष्मणकिशोरको नेतृत्वलाई विवेकहीनताको संज्ञा, भन्छन् ‘नाउपालाई रणमैदान बनाए’

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्र यतिबेला वारपारको आन्तरिक शक्ति संघर्ष चुलिएको छ ।

पार्टीभित्र पति–पत्नी रहेका रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठबीचको शक्ति संघर्षले पार्टी नै रणभूमिमा परिणत भएको बुझाइ नेता कार्यकर्तामा फैलिएको छ ।

लामो समयदेखि भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत नाउपाका नेता एवं पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीले पार्टी संरक्षक रेशम र पार्टी अध्यक्ष रञ्जिताको अहमताले पार्टी नै युद्ध मैदानमा परिणत भएको आक्रोश व्यक्त गरे ।

अक्षरल्याबसँग कुरा गर्दै उनले भने, ‘पार्टी नै बाँदरको हातमा नरिवल पर्‍यो । मनलाग्दी गरे । रेशम बढी जान्ने अहमतावादी भएर बिग्रिएको हो । रञ्जिता बढी परिचालित भएर बिग्रेको हो । स्पष्ट कुरो एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माओलीबाट परिचालित हुन् । यिनीहरुमा परिवार बाहेक अरु कसैलाई विश्वास नगर्ने मानसिकताका कारण पाटी गलत दिशामा हिडेको छ ।’

नाउपा विभाजन भएको हो भन्ने जिज्ञासामा लक्ष्मणकिशोरले अगाडि थपे, ‘त्यसतर्फ नजाऔ । तर त्यो परिवारभित्र नाउपाको नेतृत्व रहेसम्म उभो लाग्नेवाला पनि छैन । अब रञ्जितामा के देख्छु भने, जतिसके चलाउने, नसके सिद्धाउने रणनीति देखिन्छ । विधि विधानको कुनै अध्ययन छैन । केवल शक्ति देखाउने काम मात्र भयो । शक्ति र पावर पाउने वित्तिकै एक अर्कामाथि प्रतिशोध साध्ने काम मात्रै भयो ।’

लक्ष्मणकिशोरको ९ बुँदे अपिल
पूर्वमन्त्री चौधरीले विवेकहीन नेतृत्वको कारण लाखौं मतदाताको भावना र सपनामाथि तुषारापात भएको भन्दै नाउपा सुधारको लागि ९ बुँदे अपिल समेत जारी गरेका छन् । उनले सार्वजनिक अपिल गर्दै वर्तमान आधिकारिक अध्यक्षलाई समर्थन गर्ने, केन्द्रीय समितिको विस्तार तथा अद्यावधिक गर्ने, पार्टीको विधानलाई संशोधन गर्ने, विधानले निर्देशित गरेको मापदण्डअनुसार पदाधिकारीलाई तोकुवा नभई लोकतान्त्रिक बिधिद्वारा चयन गर्ने, पार्टीको अध्यक्षलाई अझै जिम्मेवार बनाउन बिशेष समिति बनाउने । आगामी फागुन भित्रै महाधिवेशन र विधान सम्मेलन र विशेष अधिवेशन र राष्ट्रिय भेला गरिसक्नुपर्ने औल्याएका छन् ।

त्यस्तै, पार्टीको ब्यानरमा पहिचानवादी शहीद र पार्टी अध्यक्ष को फोटो र तस्बिर बाहेक अन्य व्यक्तिको फोटो हटाउनुपर्ने, पहिचानको मुद्दालाई आत्मसात गर्दै टीकापुर घटनाका राजबन्दीहरुलाई सदा सम्मान गर्ने र अन्य दलबाट प्रवेश गर्ने ब्यक्तिलाई तिनका तह अनुसारको विशेष सम्मानित पदको ब्यवस्था गर्ने सुझाएका छन् ।

लक्ष्मण किशोरलाई पण्डितको समर्थन
पूर्वमन्त्री चौधरीको अपिलमा पार्टीका अर्का वरिष्ठ नेता दामोदर पण्डितले समर्थन जनाएका छन् । सामाजिक सञ्जालमा आफ्नो विचार सार्वजनिक गर्दै पण्डितले लेखेका छन्, ‘आज नाउपा नामको पार्टीको डुङ्गा नदीको मझधारमा छ । न बोटे छ, न डुङ्गाका बहना छन् । छन् त केवल त्यसमाथि सवार यात्रु मात्र । डुब्छ या किनारमा लग्छ, थाहै छैन । पार्टीको यो अबस्थाले मलाई लेख्न बाध्य बनायो ।’

उनले अगाडि थप्छन्, ‘धेरै अप्ठ्यारोमा छ पार्टी भन्ने लाग्न सक्छ । तर सहज निकास पनि छ । पहिलो कुरा बैठक छिट्टै बसौ । ठोस निर्णय गरौ। पुर्वमन्त्री माननीय लक्ष्मण जोगेठ्वा जिको ९ बुदे प्रस्ताव प्रति मेरो पुर्ण समर्थन छ। सबैलाई त्यो पढ्न र समर्थन गर्न अनि आगामि बैठकलाई त्यसैमा केन्द्रीकृत भएर पार्टीलाई अगाडि बढाउन अनुरोध गर्दछु । हामीले गरेका गल्तीको गम्भीरतापूर्वक समीक्षा गरौं ।’

नाउपाभित्र एकअर्कालाई कारवाहीको प्रक्रिया जारी
कैलालीबाट उदाएको नाउपा आन्तरिक कलहको भूमरीमा फसेको छ । हालै रेशम पक्ष तथा बहुमत केन्द्रीय समदस्यहरुको राष्ट्रिय भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी सदस्य समेत नरहने गरी हटाएको थियो । लगत्तै पार्टी अध्यक्ष लालवीर चौधरीलाई बनाइयो । तर निर्वाचन आयोगले लालवीर चौधरीलाई वैधता नदिएपछि रञ्जिता श्रेष्ठ पुनः अध्यक्षमा कायम गरिएकी हुन् ।

निर्वाचन आयोगबाट मान्यता सँगै बल पाएकी रञ्जिताले पार्टीका संसदीय दलका नेता समेत रहेका गंगाराम चौधरीमाथि कारवाहीको डण्डा चलाएकी हुन् ।

पार्टीले सोधेको स्पष्टीकरणको समेत दलको नेता चौधरीले जवाफ नदिएको भन्दै चौधरीमाथि कारवाही गरेर संसदलाई जानकारी समेत गराएकी छन्।

पार्टीको संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले नपाएको महासचिवको ओहोदा उल्लेख गरी पार्टीको लेटरप्याड तथा छापको दुरुपयोग गरी पार्टीको हित विपरीत हुने गरी अवान्छनिय क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो नदिएपछि फेरि माग्दा जवाफ नै नदिएको पत्रमा उल्लेख छ।

उनले संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले पार्टीको विधान विपरित केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको, संवैधानिक आयोगको रूपमा रहने निर्वाचन आयोगको बैठक निर्णय विपरीत पार्टीको महासचिव पद उल्लेख गरी पार्टीको छाप तथा लेटरप्याड दुरुपयोग गरी विभिन्न निर्णय एवं पत्राचारहरू गरेको र दल त्याग गरेको एवं केन्द्रीय कमिटी पदाधिकारी समेत नरहेका व्यक्तिलाई बैठकमा सामेल गराएको आरोप चौधरीमाथि लगाएकी छन्।

यो पनि पढौँ