धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्र शालिन र बौद्धिक छविको रुपमा चिनिने पार्टीका नेता दामोदर पण्डित आक्रमक देखिएका छन् ।
पछिल्लो समय नाउपाभित्रको आन्तरिक कलह चुलिएपछि उनी पार्टी संरक्षक रेशमलाल चौधरी र रेशमका बुवा समेत रहेका बर्दिया २ का प्रतिनिधि सभा सदस्य लालवीर चौधरीप्रति आक्रमक देखिएका हुन् ।
लालवीरको पार्टीमा कुनै योगदानै नरहेकाे दाबी गरेका पण्डितले हालैको नाउपाको बहुमत केन्द्रीय सदस्यहरुको केन्द्रिय भेलाले पार्टी अध्यक्ष बनाइएपछि उनी रुष्ट देखिएका थिए । निर्वाचन आयोगले लालवीरलाई अध्यक्षमा वैधता नदिएपछि तथा रञ्जितालाई नै अध्यक्षमा कायम गरेपछि उनी सामाजिक सञ्जालमा ब्याक टु ब्याक रेशम–लालवीर प्रति आक्रमक रुपमा प्रस्तुत भएका हुन् ।
नाउपाभित्र रेशमका बुवा लालवीर चौधरीलाई जिउँदो शहीदको संज्ञा दिदै आइएको छ । त्यो मानपदवीप्रति पण्डित झनै क्रुद्ध देखिएका हुन् ।
उनले लेखेका छन्, ‘लालवीर रेशमको बुवा हो । यो सत्य हो । नाउपामा उहाँको योगदान, लगानी, मेहनत फुटेको टाँक जति पनि छैन । यो पनि उत्तिकै सत्य हो । पार्टी खोल्दा, स्थानीय तहको निर्वाचनका बेला उहाँ कहाँ हुनुहुन्थ्यो ? सबैभन्दा भद्दा मजाक त उहाँ यो पार्टीको जिउँदो शहीद रे । जे भने पनि हुने ।’
त्यस्तै, उनले लालवीर चौधरीलाई आउँदो आमनिर्वाचन २०८४ मा निर्वाचित भएर देखाउन समेत चुनौती दिएका छन् । बर्दिया निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सदस्य रहेका लालवीरले आउँदो निर्वाचन २०८४ मा हजार मत कटाए देश छोड्नेसम्मको उद्घोष गरेका हुन् ।
उनले लेखका छन्, ‘तपाईप्रति मेरो कुनै खालको आग्रह छैन । तपाईंले यो पार्टीमा गरेको के हो ? र अध्यक्ष बन्ने इच्छा आयो के लाज पनि लजायो यार । अब ८४ मा बर्दिया २ बाट उठेर, टिकट त तपाईंका छोरा बुहारी दिन्छन् नै, हजार मत कटाउनुस् म यो देशमा बस्दैन ।’

रेशमलाई सुझाव : धरातलमा टेक्नुस् हावामा न उड्नुस्
त्यस्तै, नाउपा नेता पण्डितले शनिबार पनि लामो स्टाटस सार्वजनिक गर्दै रेशमलाल चौधरीले अहमता त्यागेर पार्टी निर्माणमा लाग्न अनुरोध गरेका छन् ।
उनले लेखेका छन् ‘नाउपा आजको अबस्थामा किन र कसरी आयो ? तपाईं कहाँ–कहाँ चुक्नु भो ? सच्याउनुस । पार्टी बन्छ । तपाईं हामी बनाउँछौ । तपाईं कहाँ–कहाँ सच्चिने ? तपाईं ६४ को आमनिर्वाचनमा स्वतन्त्र लड्नु भो, तपाईंले पाएको मत सन्सारलाई थाहा छ मैले भनिन । तर मैले यति भने तपाईंको क्षमता, दक्षता, तपाईंले समाजलाई दिएको योगदानको सर्वोत्कृष्ट मत हो त्यो । पहिला तपाईं त्यो धरातलमा टेक्नुस् हावामा न उड्नुस् । तपाईं ०७० को आमनिर्वाचनमा कुनै पार्टीको तिर चुनाव चिन्ह लिएर लड्नु भो, त्यो मत तपाईं ७ पार्टीको सम्युक्त मत हो, मत कति ? मैले भनिन। सब जानकार छन् । तर तपाईं ०७४ सालको आमनिर्वाचनमा चुनाव लड्दा प्रवासमा रहेर पनि तपाईंले पाएको मत तपाईंको हैन । त्यो मत मुद्दाको हो, पहिचानको हो । राज्यले ०७२ भाद्र ७ पछि गरेको चरम दमनका बिरुद्धको अभिमत थियोे । रेशमलाई अन्याय भयो भन्ने हामी जस्ता माइग्रेट भएर आएका र धर्ती पुत्रहरुको संयुक्त मत थियोे त्यो । तर तपाईं त वाफ रे वाफ । मातेर हिडेको छाडा राँगो जस्तो, डामेर छाडेको छाडा साढे जस्तो भएर जेलबाट रिहाइपछि बोल्दै हिड्नु भो (मपनि साथमै छु) ।’

