धनगढी । तत्काल संविधान संशोधन गर्न दुई तिहाइ बहुमत नपुगेपछि सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेस राष्ट्रिय सभाको बहुमत संख्याको पखाइमा रहेका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रिय सभामा सत्तारूढ दलको बहुमत सुनिश्चित भएपछि संविधान संशोधनको प्रक्रियामा अघि बढ्ने संकेत गरेका हुन् ।
कैलालीको अत्तरियामा सोमबार पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोख्रेलले अहिले संविधान संशोधनको वातावरण नबनेको बताए । बहुमत पुग्ने भएपछि संविधान संशोधनको काम पनि अघि बढ्ने बताएका हुन् ।
उनले भने, ‘संविधान संशोधनजस्तो विषय एकैपटक प्रवेश गर्ने कुरा हुँदैन । त्यसका लागि वातावरण बनाउनुपर्छ । राष्ट्रिय सभामा सरकारमा रहेका प्रमुख दलहरूको बहुमत सुनिश्चित छैन । ५–६ महिनापछि राष्ट्रिय सभामा १९ सिट खाली हुन्छ दुवै दल मिलेर सफलता प्राप्त गर्छौं । अनुकुलता निर्माण गर्छौं । त्यसपछि संविधान संशोधनको विषयमा प्रवेश गर्र्छौं ।’
त्यस्तै महासचिव पोखरेलले सरकार निर्माणका बेला नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढिरहेको बताएका छन् ।
यसैबीच पोखरेलले नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा ल्याएर गल्ती गरेको जिकिर गरेका छन् ।
उनले भने, ‘पूर्वराष्ट्रपति प्रतिस्पर्धा र पार्टीभन्दा माथि हुनुहुन्छ । जो पार्टी र प्रतिस्पर्धाभन्दा माथि छ । उहाँहरुको अधिकार खोसियो भन्ने भास्य चाँही ठीक होइन । स्वाभाविक रुपमा माओवादी केन्द्रले गल्ती गरेको छ । तर त्यो गल्तीको पछाडि एमाले जाँदैन ।’
राष्ट्रपति जस्तो सर्वोच्च संवैधानिक पदमा पुगेपछि त्यो पदको गरिमा कायम राख्नुपर्ने भनाइ समेत उनको छ ।
