धनगढी : आउँदो कार्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनमा भाग लिन नागरिक उन्मुक्ति पार्टी (नाउपा) अयोग्य देखिएको छ ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी अद्यावधिकको लागि पेश गरेको लेखापरीक्षणलगायत डकुमेन्ट फेक देखिएपछि निर्वाचन आयोगले निर्वाचन लड्न नाउपालाई अयोग्य ठहराएको हो ।
निर्वाचन आयोगले सोमबार दर्ता भएका दलहरुको सूची सार्वजनिक गरेकोमा नागरिक उन्मुक्ति पार्टी छुटेको हो । आयोगले २७ वटा दल दर्ता हुन निवेदन आएकोमा २६ वटा मात्रै दर्ता हुन योग्य भएको बताएको छ ।
आयोगले नागरिक उन्मुक्ति पार्टी दर्ता हुन नसक्नुका ३ कारण दिएको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार नाउपा चुनाव लड्न आयोग्य हुनुमा नयाँ कार्यसमितिले वैधानिकता नपाउनु र अध्यक्ष रञ्जिता श्रेष्ठले दल दर्ता हुन केन्द्रीय समितिको निर्णय र वार्षिक लेखापरीक्षण प्रतिवेदन तथ्यगत रुपमा पेस गर्न नसक्नु रहेको छ ।
