बिहिबार, बैशाख ३, २०८३

थारु बस्तीमा धमाधम चुनिन थाले गाउँ प्रमुख भमन्साहरु

धनगढी : पश्चिम नेपालको थारु बस्तीमा धमाधम भलमन्सा बरघरलगायत गाउँ तथा बस्ती प्रतिनिधि चुनिन थालेका छन् ।
माघ मनाएसँगै पश्चिम नेपालको थारु बस्तीका प्रमुखको जिम्मेवारीमा रहने भलमन्सा, बरघरलगायत गाउँ प्रतिनिधिहरु चुनिन थालेका हुन् ।
कञ्चनपुर जिल्लाको बेलौरी गाउँपालिकाका विभिन्न वडास्थित बस्तीहरु आज भएको छुट्टा छुट्टै गाउँको बेखेरी (भेला)बाट भलमन्सा चयन भएका छन् ।
बेलौरी नगरपालिका १० नं. वडा कार्यालय सचिव रेशम चौधरीका अनुसार बेलौरी नगरपालिका वडा नं. ५ रामनगर गाउँका भलमन्सामा अमरसिंह चौधरी, शोभाताल गाउँको भलमन्सामा राधेश्याम चौधरी, बैलौरी वडा नं. ७ पौलाहा दक्षिण टोलका भलमन्सामा सन्तराम चौधरी, बेलौरी नपा २ मोतीपुरका भलमन्सामा विकास चौधरी, टेढुवा गाउँको भलमन्सामा विक्रम चौधरी चयन भएका छन् । गाउँलेहरुले भलमन्सासहित सहायक भलमन्सा, लिखन्दर, चौकीदार चयन समेत गरेका छन् ।
कैलाली जिल्लास्थित विभिन्न वस्तीहरुमा पनि गाउँ प्रमुख चुनिन थालेका छन् ।
गोदावरी नगरपालिका ८ फकलपुर गाउँको सम्पन्न बखेरीबाट गाउँको भलमन्सामा यमबहादुर चौधरी, चौकीदारमा गोपीलाल चौधरीलगायत चयन भएको स्थानीय समेत रहेका थारु कल्याणकारिणी सभा कैलालीका पूर्वसभापति माधव थारुले बताए ।
माघ पर्व मनाएसँगै कैलाली र कञ्चनपुर जिल्लामा मात्रै होइन, दाङ, बाँके र बर्दिया जिल्लास्थित कुनै बस्तीमा माघी डेवानी त कुनै बस्तीमां भुरा खेल, खोज्नीबोज्नी तथा बखेरी कार्यक्रममार्फत बस्ती प्रमुखहरु चुनिन थालेका हुन् । बस्ती नायकका रुपमा बरघर, भलमन्सा, चिराकी, चौकीदार, गुरुवा, कसौकालगायतका गाउँ प्रतिनिधिहरु चुन्ने प्रचलन थारु समुदायमा रहेको छ । नेतृत्व चयन कार्य कतै सर्वसम्मत हुन्छ भने कतै चुनावी विधिमार्फत पनि हुन थालेको छ ।
नयाँ वर्ष तथा आर्थिक वर्षको सुरुवातको रुपमा माघलाई लिने प्रचलन रहेको थारु समुदायमा गएको वर्षको समीक्षा तथा आगामी वर्षको लागि कार्य योजना समेत निर्माण गरिन्छ ।
थारु समुदायमा बरघर प्रणालीमार्फत जन्मदेखि मृत्यु संस्कारसम्मको गतिविधी तथा विकास निर्माणको कार्य हुँदै आएको छ ।
पछिल्लो समय थारु समुदायको बरघर प्रणाली स्थानीय तहरुमा कानुनी मान्यता पाउन थालेका छन् । थारु बहुल क्षेत्रस्थित स्थानीय तहहरुले भलमन्सा तथा बरघर ऐन ल्याएर कानुनी मान्यता दिदैआएका छन् । कानुनी मान्यता पाएसँगै उनीको बृद्धि विकास समेत हुन थालेको छ ।
यो पनि पढौँ