धनगढी : कैलाली कञ्चनपुर जिल्लास्थित थारु बस्तीमा आजभोलि चिरै भजहर पर्वको रौनक छाएको छ ।
प्रायः गहुँ, मसुरोलगायत बाली भित्र्याइसकेपछि गाउँभन्दा पर वनजंगल, बगैचा वा खुला ठाउँमा गएर सामूहिक रुपमा मनाइने भजहर पर्वको रौनक छाएको हो । थारु समुदायमा गाउँघरबाट रोगव्याधि हट्ने जनविश्वास रहँदैआएको छ ।
यसैबीच २८६ घरधुरी रहेको कैलालीको धनगढी उपमहानगरपालिका १६ भादा गाउँका स्थानीयले सामूहिक रुपमा चिरै भजहर मनाएका छन् ।
धनगढी उपमहानगरपालिका १६ भादाको गुरुवा (पुजारी) मंगरु चौधरीले गाउँ बस्तीबाट रोगब्याधि हट्ने, बालीनाली किटफट्याग्रा नलाग्ने,पशुचौपायाको सुरक्षाको लागि पुजा गरिने प्रचलन रहिआएको जानकारी दिए ।
भजहर पर्व मनाइने विधि र प्रक्रिया भने गाउँपिच्छे फरक–फरक रहेको पाइन्छ ।
कुनै गाउँमा एकै दिन बरका भजहर तथा चिरै भजहरको नामले मनाएको पाइन्छ । भने कुनै गाउँहरुमा तीनदेखि एक हप्तासम्म पनि गाउँभन्दा पर गएर मनाएको पाइन्छ ।
भजहर पर्वलाई खासगरी नारी प्रधान पर्वको रुपमा पनि लिइन्छ । भजहर पर्वमा पुरुषहरुको भूमिका सहयोगीको रुपमा देखिने बताइन्छ ।

कसरी मनाइन्छ भजहर ?
कैलारी गाउँपालिका ६, बेनौलीका गुरुवा सत्यनारायण चौधरीका अनुसार भजहरका दिन महिलाहरु विहानै नुहाएर आवश्यक खानेकुरा लिएर भजहर भाग्न जान्छन् । त्यहाँ गइसकेपछि प्रत्येकले लगिएको मिसोला भात (अन्दी धानको गुलियो भात) पुरी, तरकारीलगायत खानेकुरा पुजाको लागि प्रत्येकबाट संकलन गरिन्छ । संकलन गरिसकेपछि पुजापाठको लागि छुट्याइन्छ । पुजापाठ गरिसकेपछि सामूहिक रुपमा खाने प्रचलन रहेको छ । वनमा भजहर भाग्न गएका महिला तथा युवतीहरु दिनभरि विभिन्न खेलहरु खेलेर रमाउँछन् । साँझ फर्किने बेला गुरुवाले पुनः पुजापाठ गरिसकेपछि घर फर्किन्छन् । बेनौलीका स्थानीयहरु तीन दिनसम्म भजहर पर्व मनाउँदैआएको गुरुवा सत्यनारायण चौधरीको भनाइ छ । तेस्रो तथा अन्तिम दिन उत्वसको रुपमा मनाइने बेनौली गाउँमा सबै खानेकुरा भजहर भाग्ने ठाउँ (वन)मा लगिन्छ । जुन दिन जिता (बंगुर), हाँस, कुखुरालगायत मासुको परिकार बनाएर खाने र खुवाउने गरिन्छ ।
थारु समुदायमा भजहरको धार्मिक महत्व मात्रै नभइ साँस्कृतिक र सामाजिक महत्व रहेको बताइन्छ । भादा होमस्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरीले भजहर पर्वमार्फत गाउँमा आपसी सद्भाव, एकता र मेलमिलाप कायम राख्न मदत गर्ने बताउँछन् ।
