धनगढी : कैलाली जिल्लाका ३ पालिकाले इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै गृह मन्त्रालयमा पत्रचार गरेका छन् ।
भजनी नगरष्पालिका, कैलारी गाउँपालिका र जोशीपुर गाउँपालिकालाई कार्यक्षेत्र तोक्दै इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेका हुन् । जसको केन्द्र भजनीमा तोक्ने भनेर समेत पत्रचार गरिएको छ ।
भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले नागरिकता बनाउनलगायत कार्यको लागि धनगढी वा टीकापुर जानुपर्ने बाध्यता अन्त्यको लागि पहल थालिएको बताए । तर कैलारी गाउँपालिका वा जोशीपुरकोे सबै क्षेत्र समेटिनुपर्छ भन्ने होइन ।
यसैबीच भजनीलाई केन्द्र तोक्दै इलाका प्रशासन कार्यालय माग्दै पत्रचार गरिएपछि कैलारीमा विरोध समेत सुरु भएको छ । कैलारी गाउँपालिकाको धनगढीसँगको हरेक दृष्टिकोणले निकटता हुँदाहुँदै पनि सेवाको लागि भजनी पठाउने कार्य स्वीकार्य नहुने समेत बताइएको छ ।
कैलारी गाउँपालिकाका पूर्वअध्यक्ष लाजुराम चौधरीले ‘सिद्धिएको दिमागले खुराफाती मात्रै सोच्छ । पिँध नभएको ढकिया र खुफियहरुको काम’ भन्दै विरोध जनाएका छन् ।
जिल्लाको भजनी र जोशीपुरमा नाउपाबाट निर्वाचित पालिका अध्यक्ष छन् । भने, कैलारीमा नेपाली काँग्रेसबाट निर्वाचित छन् ।
त्यस्तै, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले आफूहरुले कार्यालय स्थापनाको लागि सहमति मात्रै दिएको बताएका छन् । तर भजनी नै गएर सेवा लिनुपर्छ भन्ने चाहीँ नभएको अध्यक्ष चौधरीको भनाइ छ ।

