हसुलिया : कैलालीको कैलारी गाउँपालिकाको गत आर्थिक वर्ष २०८१/२०८२ मा बालुवाको रोयल्टी संकलन गर्न जारी गरिएका ठेलीहरु अझै बरामद गर्न सकिएको छैन ।
गाउँपालिकाको प्रमुख आन्तरिक स्रोत समेत रहेको बालुवा बाफतको रोयल्टी संकलन गर्न जारी गरिएको दर्जनौं ठेली र त्यसबाफत संकलन गरिएको लाखौं राजश्व रकम बरामद गर्न नसकिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले गत आव २०८१/२०८२ को लागि ५० वटा ठेली छपाई गरेको बताउँछन् । जसमध्ये २६ वटा ठेली प्रमाणित गरी रोयल्टी संकलनको लागि जारी गरिएको थियो । जसमध्ये ७ वटा फिर्ता भएको अर्थात प्रयोग भई ३ लाख २१ हजार ३१० रुपैयाँ रोयल्टीबाफतको राजश्व दाखिला भएको बताइएको छ । तर बाँकी १९ वटा ठेलीसहितको रकम आउन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकत जोशीले सुनाउँछन् ।
गत आवका ती ठेलीहरुसहितका रकम असारमसान्तभित्र दाखिला गर्नुपर्ने प्रावधान छ । तर हालसम्म फिर्ता नगरिएको हो । जसको लागि आफूहरुले निरन्तर ताकेता गरिरहेको प्रमुख प्रशासकीय अधिकत जोशीको भनाइ छ ।


गाउँपालिकामा दाखिला नभएको ठेलीको रसिद । स्रोत : रोयल्टी संकलक
रोयल्टी हिनामिना घटना के हो ?
गाउँपालिकाले वडा नं. ९ स्थित घुराहा नदीको गदरिया घाटदेखि माथि सिमराना, कोइलही, सामरचौराका साथै अन्य वडाबाट बालुवा उत्खनन गराउँदै आएको छ ।
जसको लागि गाउँपालिकाले ३ जना अस्थायी कर्मचारी नै नियुक्त गरेको थियो । कोइलही–सामरचौरा घाटमा रोयल्टी संकलनको लागि वडा नं. ९ कोइलही गाउँका स्थानीय लाहुराम चौधरी र गदरिया घाटको लागि गदरिया गाउँकी रञ्जिता रानालाई ज्यालादारीमा अस्थायी नियुक्त गरेको थियो । उनीहरुलाई परिचालनको लागि गाउँपालिकाले गाउँपालिकाको वडा नं. ३ का राजु बराललाई नियुक्त गरेको थियो । बराल नेपाली कांग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय सदस्य हुन् । बरालसँगै गाउँपालिका अध्यक्ष राजसमझ चौधरीका स्वकीय सचिव जितेन्द्र चौधरीले रोयल्टी संकलक कहाँ ठेलीहरु पुर्याउने र संकलित रोयल्टी रकम बुझ्दै आएका थिए ।
प्रमाणित भन्दा बढी ठेली कसरी काटियो ?
प्रमुख प्रशासकीय अधिकृत जोशीले २६ वटा ठेली प्रमाणित गरी जारी गरिएको बताइरहँदा रोयल्टी संकलक लाहुराम चौधरीले एक्लै २५ वटा ठेली काटेको र जसको १२ लाख १२ हजार ५ सय रुपैयाँ रोयल्टी रकम बुझाएको बताउँछन् । अर्की रोयल्टी संकलक रानाले ५ वटा ठेली काटेको सुनाउँछिन् । यद्यपी लाहुराम चौधरीले काटेको ठेली भन्दा रञ्जिता रानाले दोब्बर बढी ठेली काटेको दाबी स्थानीय भलमन्साहरुको छ ।
यसरी पालिकाले प्रमाणित गरी जारी गरेको ठेली संख्या र रोयल्टी संकलकको हातमा पुगेको ठेली संख्यामा अन्तर देखिएको हो । जुनकारण फर्जी ठेली अर्थात एउटै नम्बर प्रयोग गरिएका अरु ठेली तथा ठेलीका रसिद समेत जारी गरिएको आशंका स्थानीयको छ । रोयल्टी संकलक लाहुराम चौधरीले पनि एउटै नम्बरका अरु ठेली पनि आफु कहाँ आएको स्वीकार गर्छन् ।
स्थानीयले आव २०८१/२०८२ मा दुई जना संकलकले मात्रै २५ लाखदेखि ३० लाखसम्मको रोयल्टी संकलन गरेको दाबी गरेका छन् । गदरिया घाटकी रोयल्टी संकलक रानाले आव २०८१/२०८२ मा ३७ वटासम्म ठेली काटिएको दाबी स्रोतको छ ।
उता गाउँपालिकामा २०८१/२०८२ मा ३ लाख २१ हजार ३१० रुपैयाँ मात्रै रोयल्टीबाफतको राजश्व दाखिला भएको गाउँपालिकाका राजश्व शाखा प्रमुख लाहुराम चौधरी बताउँछन् ।

संकलन हुने रकम र गाउँपालिकामा दाखिला हुने रकममा ठूलो अन्तर देखिएपछि स्थानीयहरुले ठूलो बदमासी भएको दाबी गरेका छन् ।
गाउँपालिकाको वडा नंं ६ खरुवाखेरा घाट र वडा नंं ४ भित्तरियाघाटबाट समेत बालुवा उत्खनन हुने गरेको छ । तर त्यसबारे गाउँपालिका बेखबर बनेको छ ।
सो विषयमा अक्षरल्याबले ‘कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा चरम बदमासी, फर्जी ठेली बनाएर लाखौं रकम गायब’ भन्ने समाचार सामग्री समेत प्रकाशन गरेको थियो । स्थानीय कडा विरोध जनाइरहेका छन् । तर पालिकाले हालसम्म रोयल्टी रकम हिनामिनालाई गम्भीरताका साथ नलिएको पाइएको छ । खोजी कार्यको कुनै प्रक्रिया अगाडि बढाएको छैन । । उल्टै रोयल्टी रकम हिनामिनामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिने प्रयास भइरहेको स्रोतको दाबी छ ।
के भन्छन्, पालिका अध्यक्ष राजसमझ चौधरी ?
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले समाचार बाहिरिएपछि मात्रै आफूले थाहा पाएको बताउँछन् । यदि कसैले रकम हिनामिना गरेको पाइएको अवस्थामा असुल उपरसँगै कारवाही समेत गरिने अध्यक्ष चौधरीको भनाइ छ ।
सम्बन्धित समाचार
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा चरम बदमासी, फर्जी ठेली बनाएर लाखौं रकम गायब
