धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–२, लोहारपुरका १२ वर्षीय टेकेन्द्र बोहराको खोलामा डुबेर मृत्यु भएको छ।
आइतबार दिउँसो टेकेन्द्र आफ्ना साथीहरू १२ वर्षीय हरी बोहरा, १३ वर्षीया अनुस्का बोहरा र आठ वर्षका सुजन मौनीसँग डोडा नदीमा नुहाउन गएका थिए। सोही क्रममा टेकेन्द्र नदीमा डुबेका थिए।
साथीहरूले घरमा खबर गरेपछि टेकेन्द्रका आमा पुष्पा बोहरा घटनास्थल पुगेकी थिइन्। स्थानीयको सहयोगमा नदीबाट उद्धार गरिएका टेकेन्द्रलाई उपचारका लागि घोडाघोडी अस्पताल, सुखड लगिएको थियो।
अस्पतालले उनको अवस्था गम्भीर रहेको जनाएको थियो। उपचारकै क्रममा दिउँसो चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक डम्बर दत्त भट्टको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल खटिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
