शनिबार, बैशाख १९, २०८३

नवजीवन सहकारीद्वारा उत्पादित चामल बजारमा

धनगढी : कैलालीको धनगढीमा केन्द्रिय कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडद्वारा उत्पादित चामल बजारमा आएको छ ।

सहकारीले गोदावरी नगरपालिका–८ मजगाउँमा कृषि उप आयोजना सञ्चालन गरेको छ । नवजीवन खाद्य उद्योग ‘राइस मिल’ सञ्चालन गरी मसिनो र ग्रेडिङ चामल उत्पादन गरिरहेको हो । सहकारीका अध्यक्ष देव बहादुर बमले शेयर सदस्यहरूलाई कृषिसँग जोड्नका लागि चामल उत्पादन सुरु गरिएको बताए । उनले राइस मिलमा हाल सम्म १६ हजार २८ क्विन्टल धान खरिद गरेर एक हजार १८४ क्विन्टल धान कुटाइ गरिसकेको बताए। सहकारीले ६ सय ५१ क्विन्टल २९ किलोग्राम चामल उत्पादन गरेको छ । उनले भने, ‘दैनिक चार सय क्विन्टल धान कुट्दै आएका छौ । बढीमा ५६ किलोग्रामसम्म चामल आएको छ।’

सहकारीले २५ किलोग्राम मोटो चामलको एक हजार चार सय र मसिनो चामलको २ हजार २ सय मूल्य निर्धारण गरेको छ। धानको मूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने सहकारीका अध्यक्ष बमले बताए। उत्पादित चामल नवजीवन सहकारी संस्थाका १० वटै सेवा केन्द्रहरूबाट बिक्री वितरण गरिने छ । सहकारीले घर–घरमा नै चामल पुगाउने सुविधा समेत दिने छ । सहकारीले मझगाउँमा कृषि उपआयोजनाका लागि एक बिघा १० कट्ठा जग्गा खरिद गरेको छ । सोही स्थानमा पाँच हजार टन क्षमताको गोदाम घर निर्माण गरिएको छ। बमले भने, ‘नवजीवन उद्योगिक ग्रामका रूपमा विकास गर्ने छौ। यो क्षेत्रमा मसुरोको दाल, तोरीको तेल र पानी उत्पादन गर्ने तयारीमा छौ । चामलको उत्पादन र धान खरिद पनि बढाउनेछौ ।’

नवजीवन सहकारी संस्थाका ३६ हजार शेयर सदस्यसहित आम जनताले शुद्ध र अग्र्यानीक चामल खान पाउन भन्ने उद्देश्यले पहिलो चरणमा चामल उत्पादन सुरु गरेको बमले बताएका छन् । उनले सोही स्थानमा गहुँको पिठो, तेल र पानी उत्पादन गर्ने योजनासमेत रहेको बताए।

२०५० साल मङ्सिर ३० गते स्थापना भएको नवजीवन सहकारी संस्था हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० शाखासहित सञ्चालनमा छ। सहकारीमा ३१ करोड ३४ लाख शेयर पुँजी रहेको छ । पाँच अर्ब ७३ लाख ६४ हजार निक्षेप सङ्कलन गरी चार अर्ब १६ करोड १४ लाख रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेको छ। सहकारीले कृषि उप आयोजना अन्तर्गत डेढ करोड लगानी गरेर मिल सञ्चालनमा ल्याएको हो। ६ अर्ब ४७ करोड ९० लाख बढीको कुल सम्पुत्ति रहेको छ ।

यो पनि पढौँ