शनिबार, बैशाख ५, २०८३

कैलाली–५ : कांग्रेस उम्मेदवार शाहको चुनावी घोषणा पत्र सार्वजनिक, पुरा विवरण यस्ताे छ

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका कांग्रेस उम्मेदवार नरनारायण शाह मनुले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।

धनगढीमा आयोजित एक कार्यक्रमकाबीच उम्मेदवार शाहले घोषणापत्र तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् शाहको चुनावी प्रतिवद्धतापत्र

आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू
हार्दिक जय नेपाल, नमस्कार ।

नेपालको लोकतन्त्र स्थापना, पुनर्स्थापना तथा जेन-जी आन्दोलन र संघर्षका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने समस्त सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते भएकाहरुको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।

आदरणीय मतदाताज्यूहरु,सामाजिक न्याय, विधिको शासन, आर्थिक पारदर्शिता र सुशासन कायम गर्दै समुन्नत लोकतन्त्रको निरन्तरताका लागि संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नेछु |   संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा जनताको तीव्र विकास आकांक्षा, सुशासनको चाहना र संविधानको रक्षा गर्ने ऐतिहासिक दायित्वका बीच, प्रतिनिधिसभाको विघटनपछि सिर्जित परिस्थितिमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, संविधान र लोकतन्त्रको संरक्षण गर्न नेपाली कांग्रेस पार्टीका तर्फबाट म कैलाली निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवार भएको छु ।

आगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका  तर्फबाट कैलाली निर्वाचन क्षेत्र नं. ५ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा विकासको सुस्पष्ट दृष्टिकोण सहित म यहाँहरूको घरदैलोमा उभिएको छु । यहाँहरुको स्नेह र आशीर्वादका रुपमा मलाई अमूल्य मत प्रदान गर्नु हुनेछ भन्ने विश्वास लिएकोछु ।

मेरो संकल्प स्पष्ट छ संबिधान तह संघ, प्रदेश र स्थानीय तहका सरकार वीच समुन्वय, सहकार्य, सहअस्तित्व र सहभागिताको मूल मर्म  तथा निजी क्षेत्रसँगको समन्वयमा यस क्षेत्रलाई समुन्नत, समृद्ध र अवसरयुक्त क्षेत्रका रूपमा विकास गर्नु, जसले जनताको जीवनस्तरमा प्रत्यक्ष र गुणात्मक परिवर्तन ल्याओस्।

विगतमा नेपाली कांग्रेसका तर्फबाट संघीय, प्रदेश र स्थानीय जनप्रतिनिधिहरूको पहलमा यस प्रतिनिधि सभा क्षेत्र कैलाली,५मा २७ घरधुरी दलित परिवारबाट लालपुर्जा वितरण कार्यको सुरुवात, धनगढ़ी सभाहल(सिटिहल), फोहोरमैला व्यवस्थापन केन्द्र, कनरी पार्क, फुलवारी बसपार्क, हिंसा पीडित महिला सुरुक्षित आवास गृह, प्रदेश सरकार बहुबर्षीय सडक पूर्वाधार निर्माण अन्तरगत कैलाली पुलदेखि हुलाकी सडकसम्मको सडक पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरी बहुवर्षीय ठेका प्रक्रियामा गई हस्तान्तरणको अन्तिम चरणमा रहेको मेनरोड सडक लगायत सडक सञ्जाल, ढल निकास, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र ग्रामीण विकास, खानेपानी, नदी नियन्त्रण, हरियाली तथा वातावरण, सुशासन, भ्रष्टाचार नियन्त्रण, लैंगिक समानता र सामाजिक न्याय, एकल महिला, स्वरोजगारी मानवपुँजी निर्माण, लागुऔषध नियन्त्रण, आदिबासी, जनजाती, दलित, राना थारु, लगायतका समुदायको भाषा, कला साहित्य र पर्यटन तथा धार्मिक विकासमा गरेका महत्वपूर्ण कार्यहरुको स्वामित्व लिदै आगामी दिनमा कैलाली क्षेत्र न ५को  समृद्धि र समुन्नतिकालागि आवश्यक नीति तथा कानुन  निर्माण गर्न प्रतिवद्ध रहनेछु ।

म प्रण गर्दछु— भ्रष्टाचार गर्ने छैन, गर्न पनि दिने छैन। जनताको सेवा, यस क्षेत्रको समग्र विकास तथा समृद्धिका लागि अहोरात्र इमानदारीका साथ खटिनेछु। शिक्षा, स्वास्थ्य, कृषि,भौतिक पूर्वाधार, रोजगारी र स्वरोजगारमार्फत, सुरक्षित र गुणस्तरीय जीवन यापन गर्ने आजका ज्वलन्त मुद्दाहरूको समाधान गर्दै धनगढीलाई उन्नत र समृद्ध सहरमा विकसित गर्दै  ग्रामीण वस्तीलाई सहर उन्मुख वस्तीका रूपमा स्थापित गर्ने मेरो अठोट हो।

मेरो तर्फबाट कैलाली ५ का सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा रुख चिन्हमा मतदान गरी विजयी गराइदिनुहुन हार्दिक अनुरोध गर्दै यहाँहरुको अपेक्षामा  खरो उत्रिने प्रतिवद्धता व्यक्त गर्दछु ।

जय नेपाल ।

मेरो प्रतिबद्धता

१ नीति तथा कानुन

  • सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेश बनाउन प्रतिनिधि सभा र संसदका बिभिन्न समितिमा आवश्यक नीतिगत, कानुनी एबम संरचनागत सुधार गर्न प्रभावकारी र सशक्त भूमिका निर्वाह गर्ने अठोट गर्दछु, 
  • समग्र सुदूरपश्चिम प्रदेशको रुपान्तरणका सम्बाहक परियोजना सहिद  दशरथ चन्द राष्ट्रिय स्वास्थ्य बिज्ञान विश्वबिधालय, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको स्वीकृत डीपीआर र EIA अनुसारको पूर्वाधार निर्माणका लागि बजेट सुनिश्चित गर्न , पुर्वपश्चिम राजमार्ग अन्तर्गत चिसापानी गड्डाचौकी छलेन सडक स्तरउन्नती, त्रिनगर भन्सारको स्तरउन्नती, पश्चिमसेती, पञ्चेश्वर जलबिधुत, सुख्खाबन्दरगाहा, दैजीछेला औधोगिक क्षेत्र, हरैया सेज क्षेत्र, डुडेझारी औधोगिक क्षेत्र, सुदुरपश्चिम प्रदेशमा २२० के.वि. प्रसारण लाईन निर्माण, महाकली करीडोर, सेतीलोकमार्ग र फास्टट्रयाक, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति लगायतका राष्ट्रिय महत्वका आयोजनाहरुको कार्यान्वयनको लागि प्रतिनिधि सभामा यस प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यको ककस बनाएर जोडदार आवाज उठाउनेछु ।
  • सुदूरपश्चिम  प्रदेशमा उधोग, कलकारखाना स्थापना गर्न नीजी लगानी कर्ताहरुलाई आकर्षित गर्न औधोगिक व्यवसायिक ऐन परिमार्जन गरी अन्य क्षेत्रको तुलनामा थप प्रोत्साहन, सहुलियत र सुविधाहरु उपलब्ध गराउन पहल गर्नेछु ।
  •  धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाउन संघीय सरकारसंग पहल गर्नेछु ।
  • यस क्षेत्रमा भूमिहीन, दलित, सुकुम्बासी, मुक्त कमैया, मुक्तहलिया र अव्यवस्थित बासोबासीहरुको सदियौदेखिको  समस्या समाधान गरी लालपूर्जा वितरण गर्न पहल गर्नेछु ।
  •  क्षेत्र नं ५ मा नापनक्शा सम्पन्न भइसकेका तर लालपूर्जा नपाएका,पाउन योग्य जमिनको लालपूर्जा यथाशीघ्र वितरण गर्न पहल गर्ने अठोट गर्दछु ।
  • प्रतिनिधि सभाले पारित गर्ने महत्वपूर्ण विधालय शिक्षा ऐन, निजामति सेवा ऐन लगायत अन्य ऐनहरुको आवश्यक निर्माण तथा संशोधन गर्न पहल गर्ने अठोट गर्दछु ।

२ युवा स्वरोजगार तथा उधमशिलता

  • आधुनिक सूचना प्रबिधि पार्क (IT Park) स्थापना गरी युवालाई सूचना प्रविधि, डिजिटल सीप र स्टार्टअपसँग जोड्नेछु ।
  • ‘Youth Dialogue & Innovation Platform’ स्थापना गरी Gen Z को आवाजलाई नीतिमा रूपान्तरण गर्नेछु ।
  • धनगढीमा प्रस्तावित भारत सरकारको सहयोगमा निर्माण हुनेNepal Institute of technology  का लागि जग्गा र निर्माणका लागि पहल गर्नेछु ।
  • युवाहरुलाई स्वदेशमै स्वरोजगारको अवस्था सिर्जना गर्न तालिम प्राप्त व्यक्ति तथा संस्थाहरुबाट प्रशिक्षित, योग्य, दक्ष एबं कर्मठ युवा नीतिको लागि पहल गर्दै, ज्ञान, सिप र उधमशीलता अभिवृद्धिका  विभिन्न कार्यक्रमहरु स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय र सहकार्यको लागि विशेष पहल गर्नेछु ।
  • लागूपदार्थ दुर्व्यसनीको रोकथाम र न्यूनीकरणका लागि तिनै तहका सरकारको समन्वयमा  अभिभावक, बिधालय र स्थानीय प्रशासनको सहकार्यमा लागु पदार्थ दुर्व्यसनी रोकथाम अभियान संचालन गर्न पहल गर्नेछु ।
  • लागूपदार्थ दुर्व्यसनीमा परेका युवा तथा बालबालिकाको उद्धार र पुर्न स्थापनाका लागि धनगढी उपमहानगरपालिका र प्रदेश प्रहरी कार्यालयको साझेदारीमा फुलवारीमा स्थापना भएको आसरा सुधार केन्द्र संचालन गर्न आवश्यक सहयोग गर्नेछु ।
  • युवालाई आत्मनिर्भर बनाउन तिनै तहका सरकार र निजी क्षेत्रसंगको सहकार्यमा व्यवसाय, बिजिनेस इन्कुबेसन सेन्टर, टेक्निलोजी एक्सिलेन्स सेन्टर, रिसर्च सेन्टर स्थापनाकालागि, नीतिगत, संरचनागत पूर्वाधार सुधार र स्टार्टअप इकोलोजी स्थापना गर्न पहल गरिनेछ ।
  • युवा-मैत्री रोजगारी नीति निर्माणका लागि संसदमा सक्रिय भूमिका निर्वाहा गर्नेछु ।

३ शिक्षा, स्वास्थ्य, खेलकुद:

  •  गेटामा रहेको सहिद  दशरथ चन्द राष्ट्रिय स्वास्थ्य बिज्ञान विश्वबिधालयलाई विशेषज्ञ सेवासहित सञ्चालनमा ल्याई मेडिकल अध्ययन सुरु गर्न आवश्यक बजेट सुनिश्चित गर्न संघीय सरकारमा सशक्त पहल गर्ने अठोट गर्दछु ।
  • सेती प्रादेशिक अस्पताल साङ्गठनिक संरचना(ओएनएम) गरी गुणस्तरीय स्वास्थ्य सेवा  प्रवाह गर्न प्रदेश सरकार संग पहल गर्नेछु ।
  • यस क्षेत्रमा सुबिधा सम्पन्न प्रस्तुती गृह  स्थापना गर्न जोडदार पहल गर्नेछु ।
  • नगर स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकको व्यवस्था, सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालन तथा संविधानप्रदत्त स्वास्थ्य उपचारकोहक कार्यान्वयनका लागि संसदमा सशक्त आवाज उठाउनेछु ।
  • उर्मा, फूलबारी तथा कैलारी गाउँपालिका वडा नं. ६ र ९ लाई पायक पर्ने गरी २५ सैय्याको अस्पताल स्थापना गर्न सरकारको नीति तथा कार्यक्रममा समावेश गराउने अठोट गर्दछु ।
  • महिला, दलित, मुक्त कमैया–कमलरी, लैङ्गिक अल्पसंख्यक र अपाङ्गता भएका सिमान्तकृत समुदायको समावेशी विकासलाई प्राथमिकतामा  राख्नेछु ।
  • धनगढी रंगशालालाई आधुनिक रंगशाला र वडा न ११,१२ र १९ मा भएका खेलामैदानलाई बैकल्पिक रंगशालाको रुपमा स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गर्न पहल गर्नेछु ।
  • सामुदायिक विद्यालयको भौतिक संरचना सुधार, डिजिटल कक्षा, विज्ञान प्रयोगशाला तथा प्रविधिमैत्री शिक्षा तथा शैक्षिक गुणस्तर सुधारका  लागि प्रदेश र संघीय सरकार मार्फत बजेट सुनिश्चित गर्नेछु । शिक्षा र स्वास्थ्यमा समान पहुँच स्थापना गर्न एकीकृत विकास आयोजना सञ्चालनका लागि संघीय तथा प्रदेश सरकारमा आवश्यक पहल गर्नेछु ।

४ कृषि आर्थिक विकास:

  • कृषि सिँचाइका लागि भूमिगत डिप बोरिङ, टुबेलहरुको मर्मत सम्भार गर्दै यसको बहूपयोगिता गर्न आवश्यक बजेट तर्जुमा गर्न पहल गर्नेछु,
  • किसानलाई  साना ट्युबेल उपलब्ध गराई , कृषि उत्पादनको पकेट क्षेत्र वेला फूलबारी, उर्मा  र कैलारी गाउँपालिकाका वडा न ६ र ९ का वडाहरूमा कृषि पकेट विकास गर्न  तथा उत्पादित बस्तुको बजारीकरण र अनुदान वास्तविक किसानसम्म पुग्ने गरी पारदर्शी प्रणाली विकास गर्न प्रत्यन्शील रहनेछु ।
  • खाद्य आत्मनिर्भरता र किसान समृद्धिका लागि रासायनिक मलको समयमा उपलब्धता सुनिश्चित गर्दै विद्युत पहुँच, गुणस्तरीय बीउ, उन्नत पशु नश्ल र प्राविधिक सेवाका लागि पहल गर्नेछु  ।
  • कृषिमा आधारित उद्योग, कृषि औजार, भूमि बैंक, करार खेती र गैर–कृषि रोजगारीका अवसरमार्फत ग्रामीण विकास, बजार पहुँच र किसानको आय वृद्धि सुनिश्चित गर्न पहल गर्नेछु ।
  • स्थानीय उत्पादनको बजारीकारणका लागि कृषि संकलन केन्द्र,फूलबारीमा रहेको   शीतभण्डार (कोल्डस्टोर), हाटबजार डिजिटल मार्केटिङ्गको सुनिश्चितता गर्न पहल गर्नेछु ।
  • यस क्षेत्रमा रहेको सामुदायिक वनलाई दिगो वन व्यबस्थापनमा आधारित वन व्यबस्थापन गरी स्थानिय उपभोक्ता र समुदायको आयआर्जन सहयोग पुग्ने कार्यक्रमको नीतिगत व्यबस्थाका लागि पहल गर्नेछु ।

५ उधोग तथा लगानी

  • वडा नं. १५ र १६ मा औद्योगिक क्षेत्र स्थापना गर्न पहल गर्दै स्थानीय रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारका लागि प्रयास गर्नेछु ।
  • कैलाली जिल्लामा आन्तरिक तथा वैदेशिक लगानी भित्र्याउन कानुनी, प्रशासनिक र पूर्वाधारगत अवरोध हटाइ लगानीमैत्री कैलाली अवधारणा कार्यान्वयनका लागि पहल गर्नेछु ।
  • औद्योगिक क्षेत्र, कृषि-प्रशोधन, पर्यटन, सूचना प्रविधि र हरित ऊर्जामा निजी तथा सार्वजनिक साझेदारी (PPP) मार्फत लगानी प्रवर्द्धन गरी स्थानीय युवालाई प्राथमिकता राख्दै दिगो रोजगारी सिर्जनाका उपाय खोज्नेछु ।

भौतिक पूर्वाधार  विकास

  • धनगढी उप-महानगरपालिकाका सबै वडा र कैलारी गाउँपालिकाका वडा न ६ र ९ मा बर्षातको समयमा हुने डुबान र नदी कटान समस्याको स्थायी समाधानका लागि संघीय र प्रदेश सरकारमार्फत बजेट सुनिश्चित गर्नेछु ।
  • धनगढीमा अत्याधुनिक बसपार्क निर्माणका लागि पहल गर्नेछु ।
  • धनगढी विमानस्थलको विस्तार तथा पूर्वाधार विकासमा पहल गर्नेछु ।
  • सहिद गेट,धनगढी चौराहा, एल.एन. चोक र क्याम्पस रोडमा आकाशे पुल निर्माणका लागि पहल गर्ने,
  • यस क्षेत्रका सबै भित्री सडकहरूलाई हुलाकी सडक,रिङरोड र मुख्य सडकसँग जोड्ने सडकहरुको स्तरोन्नति तथा ढल निकाससहित कालोपत्रे गर्न बजेट व्यवस्थापनाका लागि पहल गर्नेछु ।
  • वडा न १४,१५,१८ र १९ का भित्री सडकका साथै रिङ्गरोड सडक स्तरोन्नति गर्ने कार्यलाई प्रथामिकताका आधारमा बजेट व्यवस्थापनाका लागि पहल गर्नेछु ।
  • धनगढी शहरलाई आधुनिक शहर र बेली, फूलवारी, उर्मा, भादागाउँ  धूर्जन्ना, घुराही गाउँ र गदरिया गाउँलाई शहरउन्मुख गाउँका रुपमा विकास गर्न आवश्यक बजेट तथा कार्यक्रम निर्माण गर्न स्थानीय, प्रदेश र संघीय सरकारमा पहल गर्नेछु ।
  • धनगढी उपमहानगरपालिका वडा नं.-१,२,३,८,९,१०,१२,१३,१४,१५,१६,१७,१८,१९ हुदैँ बगेको मोहना नदी, खुटिया, शिवगंगा तथा कैलारी वडा नं.- ६,९ घुराही नदीमा तटबन्धन गरी नदी कटानको दीर्घकालीन समस्या समाधानका लागि संघीय र प्रदेश सरकारमार्फत बृहत्तर तटबन्धन योजना सञ्चालन गर्न पहल गर्नेछु ।
  • कनरीको उर्मीदेखि भादा जाने  सडक स्तरोन्नति गर्न बजेट व्यवस्थापनका लागि पहल गर्नेछु ।
  • शान्तिकटान र उर्मा जोडने शिबगंगा नदीको बेलघाटमा पक्कि पुल निर्माण गर्न बजेट बिनियोजंनका लागि बिषेश भूमिका निर्वाहा गर्नेछु ।,
  • कैलारी गाउँपालिका वडा नं ९ घुराही घुराहा नदी र नदीमा पक्की पुलका निर्माण गर्न बजेट बिनियोजंनका लागि बिषेश भूमिका निर्वाहा गर्नेछु ।,
  • घुराही गाउँदेखि कैलारी  वडा न ९ सामर चौराहगाउँदेखि गदरिया बजार जोडने र गदरिया खानेपानीदेखि गौरीगंगा नगरपालिकासंग जोडने कृषि सडक कालोपत्रे गर्न पहल गर्नेछु ।
  • कैलारी गाउँपालिका वडा न ६ को लम्बिफाटा र बनकट्टाको झलारिखोलामा पक्कीपुल निर्माण गर्न पहल गर्नेछु ।
  • फोहोरमैला प्रशोधन केन्द्र र ल्याण्डफिल्ड साइटको प्रभावकारी सञ्चालन गर्न बजेट बिनियोजन गर्न पहल गर्नेछु ।
  • यस क्षेत्रका सबै वडामा खानेपानी आयोजनाको डीपीआर तयार गरी प्रत्येक टोलमा स्वच्छ खानेपानीको सुनिश्चितता, मुख्य चोकमा सडकबत्ती, संवेदनशील क्षेत्रमा CCTV जडान, सुरक्षा पोष्ट, हरित पार्क, बालउद्यान तथा खेलमैदान निर्माण गर्नेछु ।

समावेशी समाज सुशासन:

  • भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सदाचार नीतिलाई  व्यवहारिक रुपमा कार्यान्वयनमा गर्ने छु । 
  • दलित, आदिवासी जनजाति ,थारु, रानाथारु, मुस्लिम, एकल महिला, लैंगिक अल्पसंख्यक र अपाङ्गता भएका ब्याक्तिहरुको समावेशी विकासलाई प्राथमिकता दिने अठोट गर्दछु ।
  • अल्पसंख्यक तथा दलित समुदायको परम्परागत पेशाको संरक्षण, आधुनिकीकरण र व्यवसायीकरण गरी स्वरोजगार र आयआर्जन वृद्धि गर्न संघीय तथा प्रदेश सरकारमार्फत अनुदानको व्यवस्था मिलाउन प्रत्यन गर्नेछु ।
  • आदिबासी जनजाती,थारु, रानाथारु, दलित  र मुस्लिम समुदायको बृहत्तर विकासका लागि, शिक्षा, स्वास्थ्य रोजगारी र  भाषा, कला जस्ता सबै खाले, रितिरिवाजहरुको सम्बर्द्धन गर्न प्रयत्नशील रहनेछु
  • श्रमिक हकहितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य बनाउने पहल गर्नेछु ।
  • महिला सशक्तीकरण तथा महिला स्वरोजगारका लागि आवश्यक पहल गर्नेछु  ।

८ पर्यटन र सांस्कृति:

  • कनरी पार्क, नेतुवा ताल, बेहडाबाबा, जाखौर ताल, शिवपुरीधाम, धनगढी -१२,
  • डि गाउँ अष्टलक्ष्मीको मूर्ति निर्माण, धुधुवा ताल तथा कोइलही ताललाई गुरुयोजना अनुसार धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि आवश्यक बजेट मिलाउन पहल गर्नेछु ।
  • वडा न १६ को भादागाउँ होमस्टेलाई थारु संस्कृतिको केन्द्र र वडा न १० मा रानाथारु होमस्टे स्थापना गरी ग्रामीण पर्यटनको विकास गर्न तीनै तहका सरकारसँग पहल गर्नेछु ।
  • वडा नं. ७ पटेलामा रहेको थारु संग्रहालयको सम्बर्द्धन र प्रदेशमा जातीय संग्रहालय निर्माण गर्न पहल गर्नेछु ।
  • आदिबासी जनजाती,थारु, रानाथारु, दलित  र मुस्लिम समुदायको भाषा, कला जस्ता सबै खाले, रितिरिवाजहरुको सम्बर्द्धन गर्न प्रयत्नशील रहनेछु ।
  • माघी, होलि, भुईया, तिज, भर्रा, गुरुवा, चराई गीताढोल आदिको संरक्षण र सम्वर्द्धनका लागि तिनै तहका सरकारसंग गर्न पहल गर्नेछु साथै सबै जातिको पहिचान हुने गरि जातीय संग्रहालयको निर्माण गर्न पहल गर्नेछु ।
  • मेरा प्रतिबद्धता र जनताका अपेक्षा, सुझाब र सल्लाहका लागि संघिय संसदको निर्वाचन क्षेत्र कार्यालय धनगढीमा स्थापना गरी निरन्तर मतदाता शुभेच्छुुकहरु संग सम्बादमा रहने प्रतिबद्धता व्यक्त गर्दछु । **

यो पनि पढौँ