धनगढीः कैलाली जिल्लाको प्रमुख धार्मिक क्षेत्र बेहडाबाबा क्षेत्रमै अवस्थित महादेवा ताललाई पर्यटनकै उदेश्यले व्यवस्थापन गरिन थालिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित महादेवा ताललाई व्यवस्थित गर्न २०८१ असार १८ गते नै निर्माणको ठेक्का सम्झौता भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले ५ करोड १२ लाख १५ हजार १४६ रुपैयाँका संरचना निर्माण गर्न ठेक्का सम्झौता गरेको हो ।
बेहडाबाबा मन्दिर व्यवस्थापन समितिले तयार पारेको २८ करोडको विस्तृत योजना प्रतिवेदनमा ५ करोड १२ लाखको काम सुरु भएको छ । बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले ताल क्षेत्रमा सात किलोमिटर बल्क लगाउने काम हुने बताए ।
उनले भने, ‘२८ करोडको डिपीआर हो। पहिलो चरणमा २ करोड ५० लाखको काम भएको छ । पाँच करोड १२ लाखको काम हुँदैछ ।’
महादेवा ताल क्षेत्रमा २८ करोडका संरचनाहरू निर्माणको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार छ। हालसम्म २ करोड ५० लाखका भौतिक संरचनाहरु निर्माण गरिएका थिए । हाल पाँच करोड १२ लाखको काम हुँदैछ। तालको चारै तिर पैदलयात्राका लागि सहजताका लागि टायलहरू राखिएका छन् । महादेवा तालका लागि १० करोड रुपैयाँ अझै आवश्यक रहेको छ । सात किलोमिटर बल्क लगाउने योजना रहेको हो। जोशीले भने, ‘१० करोड बजेट अझै आवश्यक छ । तालमा पुल निर्माण गर्नुछ । मन्दिरसम्म जान पुल आवश्यक हो । लाइटहरू लगाउने छौ ।’
बेहडाबाबाको महावेदा ताल क्षेत्रमा विद्युत् लाइट जडान, भ्यूटावर निर्माण र महादेवा मन्दिरसम्म जानका लागि पुल निर्माणको योजना रहेको छ । ताल क्षेत्रमा ढुङ्गाको पर्खालसमेत निर्माण हुने छन् । ताल क्षेत्रमा वनभोजका लागि पनि ठाउँहरू राखिएका छन् । ताल क्षेत्रमा धार्मिक तथा पर्यटकीय रूपमा विकासका कामहरू थालिएका हुन् । पैदल मार्ग र तालमा पर्खाल निर्माणको काम जारी रहेको बताइएको छ ।
