अविनाश चौधरी
धनगढी : कैलालीको गौरीगङ्गा नगरपालिका–१० स्थित एक गाउँमा कुनै बेला पाँच घरमात्रै थियो, त्यो पनि सबै थारुको। चारैतिर वनले घेरिएको मनमोहक, शान्त, सुन्दर रमणीय ठाउँ। वनमा घर लुकेजस्तै भएका कारण गाउँवासीले गाउँको नाम राखे नुक्लिपुर।
पछि पहाडबाटसमेत धमाधम बसाइँ सरेर मान्छे आए । नुक्लिपुरमा घर बनाएर बसे। गाउँमा घर थपिएसँगै चहलपहलमात्रै बढेन, गाउँको रैथाने नाम मेटिने खतरा पनि बढ्न थाल्यो । विगतदेखि थारु पुर्खाले नुक्लिपुर नामले चिनाएको र चिन्दै आएको गाउँलाई गैरथारु समुदायका मानिसले रैथाने नाम बिगारेर नक्कलीपुर भन्न थाले ।
गाउँको वास्तविक नाम बिग्रिन थालेपछि रैथाने नाम बचाउन पछिल्लो समय होमस्टे सञ्चालन गरिएको छ । थारु समुदायका मानिसले आफ्नो पूर्खाले राखेका गाउँको नाम जोगाउन नुक्लिपुर सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

“हाम्रो पुर्खाले राखेको नाम नुक्लिपुर संकटमा परिसकेको थियो”, नुक्लिपुर सामुदायिक होमस्टेका अध्यक्ष दिनेश दहितले भने,“त्यो रैथाने नामलाई बचाउन हामीले होमस्टे सञ्चालनमा ल्यायौं । त्यसले गाउँको रैथाने नामलाई प्रवद्र्धन गर्ने कार्य गरिरहेको छ ।”
कुनै बेला पाँच घरमात्रै रहेको नुक्लिपुरमा हाल १२० घर पुगेको छ। जसमध्ये ४० घर थारु समुदायको र ८० घर अन्य समुदायको रहेको बताइन्छ। विगतमा थारुमात्रै बसेको गाउँमा पछिल्लो समय बसाइँ सरेर अन्य समुदायका मानिस आउनेक्रम ह्वात्तै बढेको छ। पहिल्यै नुक्लिपुरमा जग्गा किनेका गैरथारु समुदायका व्यक्तिले जग्गा बिक्री गर्दै गएका कारण त्यहाँ बस्न आउने अन्य समुदायका मानिसको सङ्ख्या बढ्दै गएको हो ।
गाउँको रैथाने नामलाई कुनै पनि हालतमा ओझेलमा पार्न नहुने अध्यक्ष दहितको भनाइ छ । सो गाउँवासीले गाउँको नामसंगै संस्कृति, प्रकृतिलाई जोडेर २०७९ बाट पाँच घरमा नुक्लिपुर सामुदायिक होमस्टे सञ्चालन गरेका हुन् । होमस्टेमा २० जना आगन्तुक राख्न सकिने र पाँच सय जनालाई खाना खुवाउन सक्ने व्यवस्था रहेको उनले बताए ।

होमस्टे सञ्चालनमा आएको अढाई वर्षको अवधिमा तीन सय स्वदेशी तथा विदेशी पर्यटकले नुक्लिपुर सामुदायिक होमस्टे पुगेर रमाएका छन् । गाउँमा आएका पर्यटकहरुलाई रैथाने थारु परिकारको स्वाद पस्किने गरेको अध्यक्ष दहितले बताए ।
“उनीहरुलाई सखिया, झुमरा लगायतको मौलिक थारु नृत्य पनि देखाउने गरेका छौं”, उनले भने ।
पाँच लाखको कारोबार
पछिल्लो समय कैलालीमा बढी चर्चामा रहेको नुक्लिपुर सामुदायिक होमस्टेमा वार्षिक पाँच लाख जतिको कारोबार हुने गरेको छ। प्रत्येक होमस्टे सञ्चालकले एक लाखसम्मको कारोबार गर्ने गरेको अध्यक्ष दहितले बताए । होमस्टे व्यवसायबाट आम्दानी बढ्न थालेपछि सञ्चालकहरुलाई हौसला मिलेको उहाँको भनाइ छ ।
“सुरु सुरु होमस्टे सञ्चालन गर्दा सञ्चालकहरुले आज मेरो घर पाहुना नपठाऊ भन्ने स्थिति थियो”, उनले भने,“अब उनीहरु जतिबेला पनि पाहुना स्याहार्न तयार छन्। गाउँको रैथाने नाम बचाउनका लागि सञ्चालन गरिएको होमस्टेले सञ्चालकको हौसला बढ्दै गएको छ ।”
