शनिबार, बैशाख १९, २०८३

कैलालीमा कृषि ऋण ब्याज अनुदान कार्यक्रम प्रभावित, नयाँ आवेदकले अनुदान नपाउने !

धनगढी : कैलालीमा कृषि ऋण ब्याज अनुदानको कार्यक्रम प्रभावित भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक कृषि कार्य गर्दै आएका कृषकहरुलाई उपलब्ध गराउँदै आएको कृषि ऋण ब्याज अनुदान कार्यक्रम प्रभावित बनेको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले बजेट अभावको कारण देखाउँदै सो कार्यक्रम कार्यान्वयनमा नजाने जनाएको छ । खासगरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीमा चालू आव २०८१/०८२ मा कार्यक्रमको लागि आवेदन दिएका नयाँ कृषकहरु सो कार्यक्रमबाट बञ्चित हुने भएका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर विनोद कुमार कठायतले भने, ‘हाम्रो यहाँबाट ३ वर्षदेखि कृषि ऋणको ब्याजमा अनुदान दिने कार्यक्रम भइरहेको छ । चालू आवको स्वीकृत बजेट गत वर्षदेखि नै छनोटमा परेका किसानलाई मात्रै पुग्ने देखिन्छ । जुन कारण चालू आवमा आवेदन दिएका किसानलाई बजेट अभावका कारण समेट्न नसकिने देखिएको छ ।’
कृषि तथा पशुपन्छी क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरणको लागि कृषि व्यवसायमा आवद्ध कृषक, कृषि सहकारी, कृषि समूहलाई कृषि ऋणको ब्याजमा ८ प्रतिशत अनुदान दिदै आइएको छ ।

ब्याज अनुदान कार्यक्रमको लागि चालू आवमा ३ करोड २० लाख बजेट विनियोजन गरिएको छ । जुन बजेट विगतका वर्षमा छनोटमा परेका किसानलाई मात्रै पुग्ने सो कार्यालयले जनाएको छ । चालू आवमा सो कार्यक्रममा सहभागिताको लागि १०२ जना नयाँ किसानले आवेदन दिएका छन् । ती १०२ जना किसान सो कार्यक्रममा सहभागी हुन नपाउने भएका हुन् ।

तर सो कार्यालयले गत असोज महिनामा नै सूचना जारी गर्दै आवेदन आह्वान गरेको थियो । ती नयाँ किसानलाई समेट्न थप बजेट आवश्यक पर्ने कार्यालय प्रमुख खडायतले अक्षरल्याबसँग भने ।

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रमसँगै बजेट कार्यक्रममार्फत पनि किसानलाई कृषि ऋणमा ब्याज अनुदान दिने घोषणा गर्दै आएको छ । तर प्रदेश सरकारले आवश्यक बजेट विनियोजन नगर्दा कृषि कार्य अंगालेका नयाँ कृषकहरु मारमा परेका हुन् ।
कैलारी गाउँपालिका ७ का स्थानीय किसान कमल प्रसाद चौधरीले भने, ‘नयाँ किसानलाई समेट्न नसकिने हो भने, किन कार्यक्रमको लागि सूचना गरिएको हो ? सरकारले लोकप्रियताको लागि कार्यक्रम घोषणा गर्छ तर कार्यान्वयनमा नजाँदा के औचित्य भयो । यो प्रवृतिले कृषि क्षेत्रको विकास कहिले होला ?’

तर कृषि ज्ञान केन्द्र कैलालीले भने आफुमार्फत कार्यक्रममा कुनै असर नपुग्ने बताएको छ । कृषि ज्ञान केन्द्र केन्द्र कैलालीका बाली प्रसार अधिकृत रामनारायण चौधरीले कृषि ज्ञान केन्द्र कैलालीमा आवेदन दिएका नयाँ किसानले मापदण्ड अनुसारको अनुदान पाउने बताए ।

यो पनि पढौँ