मङ्लबार, जेष्ठ १२, २०८३

तराईको वनमा महुवाको महक, रक्सी बनाउन हुँदैछ संकलन

धनगढी : वसन्त ऋतुको हरयालीसँगै तराईका वनहरुमा महुवा फुलेका छन् ।

गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तरगत पर्ने महुवाका बोटमा झुप्पा–झुप्पा रसिला फूल फुलेका छन् ।

यसैबीच महुवाको फूल संकलनको कार्य भइरहेको छ । स्थानीय आदिवासी जनजातिहरु महुवाका फूल संकलन गरिरहेका छन् ।

महुवाको फूललाई प्रशोधन गरि रक्सी बनाउँने प्रलचन रहिआएको थारु समुदायका मानिसहरु यतिबेला फूल संकलन गरिरहेका हुन् ।

झरेको फूलालाई संकलन गरि सुकाउने र आवश्यक परेको बेला त्यसलाई प्रशोधन गरि रक्सी बनाउने प्रचलन थारु समुदायमा रहिआएको हो ।

कैलालीको कैलारी गाउँपालिका ६ बेनौलीकी संगिता चौधरीले गहुँबाली भित्र्याइसकेपछि महुवा संकलन गर्न थालेको बताइन् । जुन संकलित महुवाबाट डारु (रक्सी) बनाउँदैआएको जानकारी दिइन् ।

महुवा शक्तिवर्धक जडीबुटीको रुपमा रहेको बताइन्छ । कैलालीको नुक्लिपुर सामुदायिक होमस्टेका अध्यक्ष दिनेश दहितले महुवाको फूल र फलमा औषधीय गुण रहेको दाबी गर्छन् ।

महुवाको औषधीय गुणकै कारण सरक्षण पनि हुँदैआएको छ । अध्यक्ष दहितले केही वर्षदेखि आफूले महुवा वृक्षारोपणको अभियान समेत सुरु गरेको सुनाउँछन् ।

उनले भने, ‘जनजाति समुदायमा महुवाको विशेष महत्व रहेको छ । जुनकारण वनमा भएपनि संरक्षण गरिनुका साथै आफ्नो खेतबारीमा पनि रोपेको पाइन्छ ।’

थारु समुदायमा महुवाको रक्सी अन्य रक्सीभन्दा शुद्ध, तेजिलो र तागतदिलो हुने गरेको बताइन्छ । खास पाहुनालाई स्वागतका लागि र घरका देवतालाई चढाउनका लागि पनि पहुवाको रक्सी थारु गाउँमा अनिवार्य जस्तै हुन्छ ।

घरायसी प्रयोजनको लागि संकलन तथा प्रशोधन गरिने महुवा तथा महुवाको रक्सी पछिल्लो समय व्यावसायिक उदेश्यले संकलन तथा प्रवद्र्धन समेत हुन थालेको छ ।

महुवा प्रशोधन गरी बनाइएको रक्सीको माग र मूल्य समेत उच्च रहेको बताइएको छ । धनगढी उपमहागरपालिका १६ स्थित थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले आफूहरुले सञ्चालन गरेको होम स्टेमा महुवाको रक्सीको माग उच्च रहेको जनाए । प्रति बोतल (२५० मिलिलिटर) ४ सय रुपैयाँमा बिक्रि हुँदैआएको अध्यक्ष चौधरीले बताए ।

यो पनि पढौँ