भारतीय नागरिकले उत्पादन गरेको तरकारीमा अत्यधिक विषादीको मात्रा फेला
धनगढी : के तपाई धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिका क्षेत्रस्थित बगरमा उत्पादित तरकारी किन्दै हुनुहुन्छ ? किन्दैहुनुहुन्छ भने, होसयारी अप्नाउनु होला ।
हालै सो क्षेत्रमा उत्पादित तरकारी केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष विश्लेषण प्रयोगशाला एकाइ, अत्तरियाले गरेको परीक्षणमा अत्यधिक विषादी प्रयोग गरिएको पाइएको हो ।
भारतीय नागरिकहरूले मोहना र खुटिया नदीको बगर क्षेत्रमा उत्पादन गर्दै आएको लौका र करेलालगायत तरकारीमा अत्याधिक विषादी हालेको पाइएको छ ।
प्रयोगशालाको प्रतिवेदनमा कैलाली गाउँपालिका–४ मोहना नदीको बगरमा आसलामले उत्पादन गरेको लौकामा ५४ दशमलव ४५९ रोकावट प्रतिशत विषदी रहेको पाइएको हो । उनले एक क्विन्टल ७० किलोग्राम लौका बुधवार बजार पठाउन तयार पारेका थिए । उनले बजार पठाएको लौका उपभोग गर्न अयोग्य देखिएको छ ।
बिहीवार कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर विष्ट, जिल्ला समन्वय समिति, कैलालीका सूचना अधिकारी विमल जोशी, कैलारी गाउँपालिका–४का वडाध्यक्ष ठागुराम चौधरी, प्रयोगशालाका नायब प्राविधिक सहायकहरू राजेन्द्रप्रशाद भट्ट र भुवनेश्वर जोशीको टोलीले बजार पठाउन बाँकी रहेको झण्डै ७० किलोग्राम लौका नष्ट गरेको छ ।
धनगढी उपमहानगरपालिका–१५ कनरीको खुटिया नदीको बगरमा असफाकले उत्सादन गरेको करेलामा समेत अत्यधिक विषादी प्रयोग गरिएको पाइएको छ ।
प्रयोगशालामा गरिएको परीक्षणमा करेलामा ६३ दशमलव ६१६ रोकावट प्रतिशत विषादी रहेको पाइएको छ । विषादीको मात्रा ६ दशमलव ८४८८ रोकावट दर भए मात्र उपभोग योग्य हुन्छ । तर, धनगढीको खुटिया नदीको बगरमा भारतीय नागरिकले उत्पादन गरेको करेला उपभोग गर्न अयोग्य रहेको पुस्टि भएको हो । बुधवार नमुना सङ्कलन गरिएको करेलामा २ किलोमात्र बिहीवार बिहान नष्ट गरिएको छ ।
