धनगढी : सरकारले सन २०११ मा थालेको पर्यटन वर्षसँगै कैलालीको भादामा होमस्टेको सुरुवात भयो ।
थारु संस्कृति, भेषभुषा र खानपानलाई केन्द्रबिन्दुमा राखेर पर्यटन प्रवद्र्धनको उदेश्यले भादामा होमस्टे व्यवसाय थालियो ।
स्थापनाभएको लामो समय बितेपनि भादा होमस्टेले पर्यटकहरुको रोजाइ भने बन्न सकेको छैन । प्रचारप्रसारको पनि कमी होइन । तर त्यहाँको व्यवस्थापकीय पाटोका कारण एक पटक नौलो ठाउँ मानेर हुटहुटीले त्यहाँ पुग्ने पहुनाहरु मन तितो पारेर फर्किन्छन् । र अर्को पटक नआउने निधो गरी फर्किन्छन् ।
शुक्रबार मात्रै थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति भादाले धनगढीमा सुदूरपश्चिम स्तरीय होमस्टे महोत्सव आयोजनाबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो पत्रकार सम्मेलनभरि पत्रकारहरुले त्यहाँ पुगेर फर्किने पहुनाहरुको गुनासोले भरिएको प्रश्नहरु तेर्साएपछि होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीको अनुहार अन्ध्यारो थियो ।
पत्रकार सम्मेलनमै एक जना पत्रकारले प्रश्न गरे, ‘हामी कहाँ धेरैले गुनासो गर्नुहुन्छ, एक जना पहुनाले तरकारीमा कम नून भएपछि नून मागे । पछि पैसा तिर्ने बेलामा नूनको पनि अलग्गै पैसा तिरेर फर्कनुुप¥यो । त्यस्तो पैसा लिने काम त यहाँको तारे होटल पनि हुन्न । पहुनाहरुले खाएपछि पैसा तिर्नुपरेको भन्दा पनि यहाँका होमस्टेकर्मीहरुले पहुनाहरुप्रति देखाएको केवल पैसामुखी संस्कारले वितृष्णा पैदा गरेको छ ।’
गएको जाडो महिनामा केही पत्रकारहरुसहितको टोली भादा पुगेको थियो । थारु समुदायमा उसै पनि जाडो महिनाभरि आगो ताप्ने संस्कार छ । स्वभाविक रुपमा पहुना बनेर गएका त्यो टोली पनि आगो ताप्न पुग्यो । पछि फर्किने बेलामा त्यो टोलीले दाउराको पैसा तिरेर मात्रै फर्केको एक जना अर्का पत्रकारले सुनाए ।
खानपानका परिकारमा पनि भादा होमस्टेमा अचाक्ली असुलीधन्दा भइरहेको बताइएको छ । सामान्यतयाः धनगढी बजारमै ५ रुपैयाँ प्रति ढिक्री पर्ने भएपनि भादामा प्लेटका दरले दिएर अनावश्यक असुली भइरहेको बताइएको छ ।
साथै पहुनाहरुले होमस्टे पुगेपछि खानाको अर्डर गर्ने बेलामा सिंगो कुखुरा खाने अर्डर गर्छन् । तर हामस्टे सञ्चालकहरु त्यही पकाएको कुखुराको मासु प्लेटको दरले दिदैआएको गुनासो पनि बेलाबखत चर्चाको विषय बन्ने गरेको छ ।
होमस्टेमा खुवाउने खानाको परिकारको दररेट भन्दा धनगढीकै होटलमा खुवाइने थारु परिकारको दररेटमा हुने सहुलितले पनि भादा होमस्टे ओझेलमा पर्दैगएको छ ।
पत्रकार दीपक उपाध्याय भन्छन्, ‘भादामा सडकलगायत भौतिक पूर्वाधारका कारण पहुनाहरु नगएका होइनन् । उहाँहरुको व्यवस्थापकीय पाटोका कारण जान चाहन्न् ।’

भादा होमस्टेमा पूर्वजानकारी विना जानेहरु पनि निकै दुःख भोग्नुपरेको छ । केही समय अगाडि कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समूह अवलोकनको क्रममा भादा पुगेको थियो । तर होमस्टे सञ्चालकलाई आफूहरु आउन लागेको पूर्वजानकारी नदिएपछि ती विद्यार्थीहरु वेवास्ताको सिकार बनेका थिए । आयोजित पत्रकार सम्मेलनमा पनि होमस्टे व्यवस्थापन समिति अध्यक्ष चौधरीले सो कुरालाई पुष्टि गर्दै स्वीकार गरे ।
होमस्टे अध्यक्ष चौधरी आफूहरुले होमस्टेको मेनुअनुसार सेवा दिदैआएको बताएका छन् । केही होमस्टेकर्मीको कारण पनि सिंगो होमस्टे बदनामित हुनुपरेको उनको भनाइ छ ।
प्रचण्ड गर्मीमा प्रदेश स्तरीय महोत्सवको तयारी
वर्षेनि पुसमा होमस्टे महोत्सव गर्दै आएको थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति भादाले बैशाख १८ गतेदेखि २० गतेसम्म सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे महोत्सव पनि आयोजना गर्दैछ ।
जुन महोत्सवको लागि प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले १५ लाख खर्च गर्दैछ । तर प्रतिकुल मौसम तथा प्रचण्ड गर्मीको बेलामा आयोजना गरिने महोत्सव केवल सरकारी बजेट दुरुपयोग गर्नलाई मात्रै भएको भन्दै टिप्पणी हुन थालेको छ ।

प्रदेश स्तरीय महोत्सव आयोजनाको लागि आयोजित पत्रकार सम्मेलन
