कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका अनिता चौधरीले माछा पोखरीमा व्यावसायिक रूपमा पालन गरेकी छन् । माछासँगै उनले पोखरीमा घोंघी पालन गरेकी हुन् ।
६ महिनामा उनले घोंघीपालनबाट एक लाख ५० हजार आम्दानी भएको जानकारी दिइन् । वर्षमा दुई पटक पोखरीमा उत्पादन भएका घोंघी बिक्री हुने चौधरीले बताइन् । “माछाका भुरा हालिएको पोखरीमा सुरुमा एक–दुई किलो घोंघी राख्ने गरेका छौँँ”, उनले भनिन्, “माछालाई जस्तै घोंघीलाई पनि दाना हाल्ने गरेका छौँ ।”
“दाना हाल्ने गरेपछि घोंघी निकै फस्टाउने गरेका छन् । चैतमा पोखरी सुकाएपछि घोंघी बेच्नका लागि तयार हुन्छ । त्यसअघि पनि घोंघी बिक्री हुने गरेको छ”, चौधरीले भनिन् । उनका अनुसार यस वर्षको छ महिनामा १२ क्विन्टल ५० किलो घोंघी प्रतिकिलो एक सयदेखि रु एक सय २० का दरले बिक्री भएको छ ।
पोखरीबाटै केही घोंघी स्थानीयले खरिद गरेर लैजाने गरेका छन् । “धनगढी, महेन्द्रनगरलगायत बजारमा मौलिक थारु समुदायको परिकार पस्कने होटलमा घोंघी को माग बढी छ”, चौधरीले भनिन्, “माग अनुसार उत्पादन गर्न सकेका छैनौँ, जति उत्पादन गरेपन सहजै बिक्री हुन्छ ।” घोंघी बेचेर आएको रकमबाट घरखर्च सहज रूपमा चल्ने गरेको उनी बताउँछिन् ।
तीन वर्षदेखि तीन ठूला र एक सानो पोखरीमा माछासँगै घोंघी पालन गरिँदै आइएको चौधरीले जानकारी दिइन् । गत वर्ष रु ९० हजार जतिको मात्रै घोंघी उत्पादन भएकामा यस वर्ष दोब्बर बढी उत्पादन भएको उनले बताइन् । घोंघीसँगै पोखरीमा माछापालन गरी चौधरीले वर्षमा रु १० लाख बढी आम्दानी गर्दै आएको जानकारी दिइन् ।
पहिले थारु समुदायको मौलिक परिकारका रूपमा मात्रै घोंघी पकाउने गरिन्थ्यो । हाल व्यापारिक मेला, होटेलमा नयाँनयाँ परिकारको माग आउन गनलेपछि सबै समुदायको रोजाइमा घोंघीका परिकार पर्ने गरेका छन् । एक अध्ययन अनुसार घोंघी खाँदा डिप्रेसन कम हुने र मस्तिष्कको विकासमा मद्दत पुग्ने गर्दछ ।
घोंघीको सेवनबाट हड्डी बलियो बनाउने कार्यसँगै प्रजनन क्षमता बढाउनुका साथै यसमा ओमेगा फ्याट्री एसिड, क्याल्सियम, जिङ्क, पोटासियम, सोडियकलगायत पोषकतत्व पाइने भएकाले रक्तचाप नियन्त्रण गर्न मद्दत पुग्ने चिकित्सक बताउँछन् ।
कोलेस्ट्रोर कम हुने भएकाले मुटु र मिर्गाैलाका लागि घोंघीका परिकार फाइदाजनक हुने चौधरीले बताइन् । “काँचो घोंघी खाँदा टाउको, घाँटी दुख्ने कार्यसँगै केहीलाई एलर्जिको समस्या भने देखिन्छ । पहिले पानी जमेका धान खेत, पानीले भरिएका खाल्डाखुल्टी, तलाउमा थारु समुदायका महिलाले घोंघी सङकलन गरी परिकार बनाएर साँझ, बिहानको खानामा पस्कने गर्दथे”, चौधरीले भनिन ।
हाल माछासँगै पोखरीमा घोंघीपालनको कार्य हुन थालेपछि खोज्नका लागि अन्य क्षेत्र पुग्नुपर्ने झन्झट हटेर गएको चौधरीले बताइन् । उनका अनुसार परापूर्वकालदेखि थारु समुदायको मुख्य खान्कीका रूपमा अरु परिकार झै घोंघी पनि पर्दछ । रासस
