शनिबार, बैशाख १९, २०८३

चैते धानमा किसानको लहर, बैशाखमा उराठ देखिने खेतमा हरियाली !

धनगढी : कैलालीको भजनी नगरपालिका ७ हिम्मतपुरकी माया चौधरीले करिब २ विघा क्षेत्रफलमा चैते धान रोपेकी छिन् । चैत, बैशाखमा प्रायः खेत बाँझो र उराठ रहेको बेला उनको खेतमा भने हरयाली छ । उनको लहलहाउँदै धान लोभलाग्दो छ ।

तर उनको खेतको यो दृष्य यो वर्षमा मात्रै होइन, विगत १० वर्षदेखि नै यस्तै हुने गरेको माया चौधरी बताउँछिन् ।

हिउँदे बाली भित्र्याएपछि उनी चैते धान बालीको तयारी गर्छिन् । चैते धान बाली भित्र्याएलगत्तै बर्खे धान बाली रोप्ने गर्छिन् । एउटै खेतीमा समय अनुसारको बालीले मनग्ये आम्दानी लिन सफल भएपछि उनले निरन्तरता दिदै आएकी छिन् ।

उनले भनिन्, ‘आफ्नो त सबैथोक यही खेत हो । हामी यसैमा आश्रित छौ । अरु बालीसँगै थपिएको चैते धान बालीले आम्दानी बढेपछि काम पनि जाँगर चल्छ ।’

कैलालीमा बाढी प्रभावित क्षेत्रका किसानहुरु पछिल्लो समय चैते धान खेतीमा निकै हौसिएका छन् । जिल्लाको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकालगायत क्षेत्रमा चेते धान खेती फष्टाउँदै गएको छ ।

बाढीले बेर्खे धान खेती नष्ट हुने हुँदा उनी चैते धान खेतीलाई प्रमुख खाद्यन्न बालीको रुपमा खेती गर्न थालेका छन् ।

कैलाली जिल्लालाई सुदूरपश्चिममा प्रमुख धान उत्पादन हुने जिल्लाको रुपमा लिइन्छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेक बहादुर बिष्टले यहाँ ६७ हजार ४३६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको बताउँछन् । जसमध्ये १५०० हेक्टरदेखि १८०० हेक्टर क्षेत्रफलमा चेैते धान खेती हुने गरेको छ ।

पछिल्लो समय चैते धान खेतीको लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसले किसानलाई खेतीप्रति हौस्याएको छ । कृषि ज्ञान केन्द्र कैलाली प्रमुख बिष्टले आफुहरुले सिँचाइ विस्तार, यान्त्रिकरण, बिउबिजनलगायतमा लगानी बढाउँदै आएको बताए ।
चैते धान खेतीमा राम्रो आम्दानी हुन थालेपछि किसानहरु व्यावसायिक रुपमा पनि खेती थालेका छन् ।

गत वर्ष चैते धानबाट राम्रो आम्दानी लिएका कैलारी गाउँपालिका ६ बेनौलीका प्रभात कुमार चौधरीले चालू वर्ष पनि खेती गरेका छन् । प्रविधिको प्रयोगले खेतीपातीमा निकै सहजता भएको उनी चालू वर्षमा खेती गरेको अक्षरल्याबलाई सुुनाए ।

धान खेतीबाट दंग भएका प्रभात चौधरी भन्छन्, ‘यन्त्र उपकरण नभएको भए कहाँ गर्न सकिथ्यो । यन्त्र उपकरणले खेती गर्न निकै सहज भएको छ । जसले उत्पादन लागत घटाइ बढी आम्दानी लिन मदत पुगेको छ ।’

कैलारी गाउँपालिका २ कैलारी गाउँका तिलक चौधरी पनि विगतमा राम्रो मुनाफा भएपछि चालू आवमा पनि खेतीलाई निरन्तरता दिएका छन् ।

यो पनि पढौँ