धनगढी : नेपाली किसानले भोग्दैआएको सदाबहार समस्या हो, बजार नपाउनु । उत्पादित कृषि उपजले बजार नपाउँदा नेपाली किसानले समस्या झेल्नु परेको छ । यहाँका बजारमा आयात हुने भारतीय तरकारीले किसानहरु मारमा पर्दै आएका हुन् ।
यही समस्याबाट थारु आयोगका पूर्वअध्यक्ष विष्णु प्रसाद चौधरी पनि अछुतो हुन सकेनन् । आयोगका पूर्वअध्यक्ष चौधरी बैशाखदेखि गृह जिल्लामा सक्रिय छन् । बर्दियाको बारबर्दिया नगरपालिका ५ धोबिया घरका भएका उनको गएको चैत्र ६ गते आयोगको ६ वर्षे कार्यकाल सकिएपछि गाउँघरकै सक्रिय छन् ।
उनको गाउँमा ८० बढी व्यावसायिक किसान छन् । तर तरकारीले बजार नपाउँदा हैरान छन् । सामाजिक सञ्जाल फेसबुकमा उत्पादित तरकारीले बजार नपाएपछि कुहिँदै गरेको टमाटरको फोटो र भिडियो पोष्ट गर्दै उनले लेखेका छन्, ‘गाउँमा टमाटर बिक्री नभएर स्याहार गर्न नै छोडिएको अवस्था छ ।’

आफ्नो गाउँभरि तरकारी खेती हुने गरेको सुनाउँदै उनले भारतीय आयातित तरकारीका कारण स्थानीय तरकारीले बजार नपाउँदा पशुचौपायालाई खुवाउनु परेको बताए । गाउँमा आजभोलि टमाटर प्रति किलो ७ रुपैयाँका दरले बिक्री भइरहेको रहेको समेत उनले बताए । स्थानीय किसानहरुले जयनगर, बैदी, रम्भापुर, गुलरिया, कुशम्भालगायत बजारमा तरकारी बिक्री वितरण गर्दै आएका छन् ।
तर ती बजारमा आउने बिषादीयुक्त सस्तो भारतीय तरकारीले गर्दा स्थानीय उत्पादन बारीमै कुहिन थालेको हो ।
