बेलाबखत विवादमा आइरहन्छन्, वडाध्यक्ष बम
धनगढी : कैलालीको कैलारी गाउँपालिका ७ का वडाध्यक्ष दीपेन्द्र बमलाई कुटपिट गरेको आरोपमा ३ जना युवाहरु १० दिनदेखि थुनामा रहेको खुलेको छ ।
बैशाख १५ गते राति धनगढी उपमहानगरपालिका ८ कान्तिपुर टोलमा वडाध्यक्ष बम र त्यही बस्ने युवाहरुबीच कुटाकुट भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार कुटपिटको घटनामा संलग्न रहेको आरोपमा धनगढी उपमहानगरपालिका ८ का २८ वर्षीय सन्तोष चौधरी, कैलारी गाउँपालिका २ बसौटी घर भइ धनगढी ८ मा बस्दै आएका २२ वर्षीय अनुराज चौधरी र २७ वर्षीय महेन्द्र चौधरी रहेका छन् । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता भइ अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए ।
के थियो घटना ?
घटना बैशाख १५ गते राति करिब १०/११ बजेतिरको हो । धनगढी उपमहानगरपालिका ८ कान्तिपुर टोलमा घर भएका वडाध्यक्ष बम गाडीमा घर फर्किरहेका थिए । आफै बस्ने टोलमा पुग्दा केही युवाहरु र बमबीच भनाभनपछि कुटाकुटको घटना घटेको हो । सो घटनालाई लिएर प्रहरीले तीन जना युवाहरुलाई पक्राउ गरी थुनामा राखी अनुसन्धान थालेको छ ।
कैलारी गाउँपालिका ५ का वडाध्यक्ष विष्णु चौधरीका अनुसार वडाध्यक्ष बम र केटाहरुबीच भनाभनपछि वडाध्यक्ष बमले गाडीबाट झरेर केटाहरुलाई दुई-चार झपड हानेछन् । त्यसपछि १००-१५० मिटरको दुरीमा रहेको आफ्नो घरमा वडाध्यक्ष बम पुग्छन् । केही समयपछि ती युवाहरु उनको घरमै पुग्छन् । उनीहरुबीच उनको घरमै पुनः भनाभन हुन्छ । .अन्नतः उनीहरुबीच कुटपिट भएको हो । केटाहरुको समूहबाट भएको कुटपिटबाट आफ्नो टाउको समेत फुटेको वडाध्यक्ष बमले अक्षरल्याबलाई बताए ।
वडाध्यक्ष बमले भने, ‘राति घर फर्किरहँदा उनीहरु बाटोमै थिए । बाटो छोड्न नमानेपछि मैले गाली गरेको हुँ । त्यसपछि धक्कामुक्की भयो । त्यसपछि घरमै गएर उनी मलाई, मेरो परिवार, बच्चाहरुलाई समेत कुटपिट गरेका हुन् । मेरो टाउकोमा घाउ भइ टाँका लागेको छ ।’
अर्कोतिर वडाध्यक्ष बमले बिना कारण केटाहरुलाई देख्ने बित्तिकै गाली गलौच गर्नुका साथै हातपात नै गरेको कैलारी गाउँपालिका २ बसौटी घर समेत भएका कैलारी २ का वडाध्यक्ष विकास चौधरी बताउँछन् । वडाध्यक्ष बम नै झगडाको निहु खोज्दै जाँदा आक्रोशित युवाहरु उनको घरमा पुगेको बताउँछन् । दुई पक्षबीच भनाभनपछि बमले लाठी प्रहार गर्न खोजेपछि केटाहरु पनि कुटपिटमा उत्रिएको उनको भनाइ छ ।
कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले घटनालाई समझदारीमा मिलाउने प्रयास भइरहेको बताए ।
विवादमा आइरहन्छन् बम
उसो त वडाध्यक्ष बम बेलाबखत विवादमा आइरहन्छन् । कैलारीका स्थानीयका अनुसार उनी दशैं तिहारताका हसुलिया बजारस्थित होटल व्यवसायीहरुसँग होटलमा उधारोमा खाएको विषयमा विवादमा मुछिएका थिए । भने, गएको आमनिर्वाचनमा गाडीको पैसा नतिरेको विषयमा भनाभन हुँदा नागरिक उन्मुक्ति पार्टीका स्थानीय नेता भिष्मराज चौधरीलाई हसुलिया बजारमै कुटपिट गरेका थिए । यतिमात्रै नभइ उनी पालिका अध्यक्ष राजसमझ चौधरीका स्वकीय जितेन्द्र चौधरीलाई समेत दुव्र्यवहार गरेको स्थानीय बताउँछन् ।
