बिहिबार, बैशाख ३, २०८३

धनगढीका वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर बनाए ‘स्ट्रीट डग सेल्टर’, ७ वटा फोटोमा पनि हेर्नुस्

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका ५ का वडाध्यक्ष गजेन्द्र शाही बैशाख २२ गते विवाह बन्धनमा बाँधिए । भड्किलो विवाह कार्यक्रम गरिने नेपाली समाजमा उनी भने साधारण खर्चमै वैवाहिक कार्यक्रम समापन गरे ।

सोही वैवाहिक कार्यक्रम गरी बचेको पैसाले उनी उदाहरणीय कार्यको सुरुवात गरेका छन् । उनी सामुदायिक कुकुरहरुको लागि ‘स्ट्रीट डग सेल्टर’ अर्थात आश्रय स्थल निर्माण गरेका छन् । धनगढीस्थित राष्ट्र बैंकको छेउमै उनले आश्रय स्थल बनाएका हुन् ।

जहाँ सामुदायिक कुकुर र चराचुङ्गीहरुको लागि खाने बस्ने स्थल बनाइएको छ । वडाध्यक्ष शाहीले विवाह खर्च रकमबाट डेढ लाखको लागतमा ‘स्ट्रीट डग सेल्टर’ निर्माण गरेको जानकारी दिए ।

उनले भने, ‘कुकुरहरुसँग हामी धार्मिक रुपमा जोडिएका छौ । कुकुरको पूजा पनि गर्छौ । तर बाटोमा हिड्ने कुकुरलाई हेला मात्रै गरिएको छ । घृणा मात्रै गरिएको छ । त्यहीभएर हामीले ‘स्ट्रीट डग सेल्टर’ स्थापना गरेका हौ ।’

वडा अध्यक्ष शाहीले आश्रय स्थलमा रहेको कुकुरलाई मानिसहरुले आफ्नो जन्मदिन वा अन्य शुभ अवसरको बेला खाना दिन सक्ने बताए । कुकुरलाई खाना र पानी राख्नका लागि पनि व्यवस्था गरिएको छ ।

उनले अगाडि थपे, ‘कुकुरलाई पनि बाँच्न पाउने अधिकार छ । हामीले यिनीहरुलाई माया गरेमा, राम्रो स्याहार गरेमा कहिल्यै बौलाउने छैनन् ।’

मनकारी व्यक्तिको रुपमा परिचित शाहीले कोरोना महामारीको क्रममा भारतबाट फर्केकाहरुलाई निःशुल्क खाना खुवाउने अभियान चलाएका थिए ।

यो पनि पढौँ