बिहिबार, बैशाख ३, २०८३

पत्रकार खेम भण्डारीलाई एक महिना कैद फैसला

धनगढी : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको क्रममा गाली बेज्जती मुद्दा अन्तरगत पत्रकार खेम भण्डारीलाई जरिवानासहित कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत कञ्चनपुरले बिहीबार मुद्दाको सुनुवाई गर्दै भण्डारीलाई एक महिना कैद सजाय र एक लाख क्षतिपूर्तिको सजाय फैसला सुनाइएको हो । जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दका अनुसार कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले उनीविरुद्ध गाली बेइजती कसुरमा मुद्दा दर्ता गरेका थिए । भण्डारीले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा तथ्यहीन आरोप लगाउँदै आएका थिए । त्यसै मुद्दामा उनलाई कैद सजाय सुुनाइएको हो ।

वि.सं. २०७५ साल साउन १० गते उल्टाखाममा महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो ।
अदालतको फैसला आएपछि पत्रकार भण्डारीले अदालतको फैसलाको सम्मान गर्ने र जिल्लाको फैसला विरुद्द तत्काल माथिल्लो अदालतमा जाने तयारी प्रतिक्रिया दिएका छन् ।

यो पनि पढौँ