बिहिबार, बैशाख ३, २०८३

सरकारी योजनाबाट ‘थारु डेउठन्वा’लाई मन्दिर बनाउन थालेपछि…

धनगढी : आदिवासी थारु समुदायको कूल देउताको प्रतीक डेउठन्वा र मरुवाहरुको मौलिकता लोप हुन थालेपछि थारु समुदायका अगुवा तथा बृद्धिजीवीहरु चिन्तित भएका छन् ।

कैलालीको धनगढीमा मंगलबार संघारी मल्टीमिडिया सर्भिस एण्ड रिसर्च प्रालिको आयोजना तथा सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीको सहयोगमा भएको कार्यक्रमका सहभागीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

छलफल कार्यक्रममा सांसद गीता चौधरीले थारु कला, संस्कृति, जर्गेनाका साथै पुस्तान्तरण हुन नसक्दा लोप भइरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।

‘थारु समुदायमा माटोको घोडा पुज्ने प्रचलन छ । यसका साथै डेउठन्वामा विभिन्न प्रकृतिका देवीदुर्गा, देउता हुन्छन् । उनीहरुको बारेमा नयाँ पुस्तालाई जानकारी दिन जरुरी छ’, उनले अगाडि थपिन्, ‘थारु समुदाय प्रकृति र संस्कृति पुजक जाति हो । समय र मौसम अनुसार विभिन्न प्रकृतिका पूजापाठ गर्नुपर्ने चालचलन छ । हाम्रो मौलिक संस्कृति नै हाम्रो पहिचान भएको हुँदा संरक्षण र प्रवद्र्धन गर्न जरुरी छ ।’

थारु कल्याणकारिणी सभा कञ्चनपुरकी समापति सानु चौधरीले गाउँघरमा उहिले बनाइएका ठन्वा र मरुवाहरु हाल संरक्षणको पर्खाइमा जीर्ण बनेको बताइन् ।

प्रदेश सरकार, स्थानीय सरकारले मरुवा र ठन्वा संरक्षणको लागि बजेट विनियोजन गरेपनि थारु समुदायको परम्परागत मौलिकतामा आधारित मरुवा बन्न छोडेको दुखेसो सुनाइन् ।

उनले भनिन्, ‘मरुवा र ठन्वा बनाउने बेलामा थारु समुदायको संस्कृति नबुझेका प्राविधिकहरुको डिजाइन अनुसार बनाउनु पर्छ । नबनाएको अवस्थामा बजेट पास नहुने अवस्था रहन्छ । जुनकारण थारु समुदायको मरुवा र ठन्वा मन्दिरको ढाँचामा बन्न थालेका छन् ।’

कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य पुरन प्रसाद चौधरीले थारु समुदायको मरुवा जिर्ण अवस्थामा रहेको बताउँदै प्रदेश सरकार र स्थानीय सरकारले उचित बजेट विनियोजन गरी संरक्षण गर्नुपर्ने औल्याए ।

प्रदेश सरकार र स्थानीय तहले मन्दिर बनाउन ठूलो बजेट खर्च गरिरहेको अवस्थामा थारु समुदायको मरुवा तथा ठन्वा बनाउनमा पनि बजेट विनियोजन गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा अनुसन्धानकर्ता शेखर दहित र थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले थारु समुदायको भाषा, कला, संस्कृति र डेउठन्वाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो पनि पढौँ