धनगढी : कैलालीको गोदावरी नगरपालिका गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन र व्यवस्थापनको लागि बजेट विनियोजनको माग गरिएको छ ।
विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापनपत्र बुझाउँदै बजेट विनियोजनको माग गरिएको हो ।
संघर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई ज्ञापनपत्र बुझाएको थियो । भने मुख्यमन्त्री शाहलाई भेटेरै ज्ञापनपत्र बुझाएको हो ।
जेठ ४ गतेको प्रतिनिधि सभा बैठकबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक पारित गरेको भन्दै संघर्ष समितिले धन्यवाद ज्ञापन पनि गरेको छ ।
जनभावनाको कदर गर्दै सरकारले विधेयक पारित गरिदिएको भन्दै विभिन्न नेताहरूलाई सम्बोधन गरेर धन्यवाद ज्ञापन पनि गरिएको छ ।
विश्वविद्यालय सुदूरपश्चिमका जनताको प्रत्यक्ष जीवनस्तरसँग जोडिने रोजगारी, व्यापार/व्यवसाय, पर्यटन तथा आर्थिक एवम् सामाजिक रूपान्तरणमा योगदान पु¥याउने गौरवको योजनाका रूपमा समेत रहेकाले त्यसका लागि आवश्यक बजेट, जनशक्ति र उपकरणको यथाशीघ्र व्यवस्थापनको लागि माग गरिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए ।
साथै स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ऐनमा व्यवस्था भए बमोजिमका पदाधिकारीहरूको नियुक्तिको प्रक्रिया र आगामी आर्थिक वर्ष भित्रै चिकित्सा शिक्षा (एमबिबिएस) का लागि सिट सङ्ख्या निर्धारणको प्रक्रिया अगाडि बढाउन पनि माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहले संघर्ष समिति लगायतको खबरदारी र नेताहरुको पहलले विधेयक जारी भएको बताए । उनले विधेयक पारीत भएपछि अब बजेटको व्यवस्थापन हुनेमा आफु ढुक्क हुन आग्रह समेत गरे ।
त्यस्तै, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै बजेटको समय नजिकिएकाले आजै ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाइदिने बताए ।

