धनगढी : कैलालीको कैलारी गाउँपालिकास्थित ग्रामीण भेगका नागरिकहरु घर आँगनमै विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि खुशी भएका छन् ।
कैलारी गाउँपालिका र स्वस्तिक अस्पताल धनगढीको सयुंक्त आयोजना तथा तथा नवजीवन सेवा संघको साझेदारीमा स्वास्थ्य शिविर सञ्चालन गरी विशेषज्ञ सेवा दिएपछि स्थानीयहरु लाभान्वित बनेका हुन् ।
स्वस्तिक अस्पतालका अध्यक्ष दिपेन्द्र तिवारीले शनिबार कैलारी गाउँपालिकाको हसुलियामा सञ्चालित शिविरमा हाडजोर्नी, सर्जरी, नाक–कान–घाँटी, रेडियोलोजी र फिजिसियन सेवा निःशुल्क रुपमा दिइएको जानकारी दिए । यसका साथै निशुल्क औषधी समेत वितरण गरिएको छ । ग्रामिण भेगका नागरिकहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्य सहित शिविर आयोजना गरिएको तिवारीको भनाइ छ ।
समयमै स्वास्थ्य चेकजाँच नहुँदा ग्रामीण भेगका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुले रोग पालेर बस्नुपर्ने बाध्यता रहेको छ । गाउँमै शिविर सञ्चालन भएपछि उनीहरु लाभान्वित भएका हुन् ।

स्थानीय रिमा चौधरीले भनिन् ‘डाक्टरलाई देखाउन धनगढी जाउँला सोचेकी थिए, तर आज घर आगनमै बिशेषज्ञ चिकित्सकबाट उपचार र परामर्श पाए यो धेरै राम्रो कार्यक्रम लाग्यो ।’
त्यस्तै, स्थानीय पुजा बोहराले गाउँमै शिविर आउँदा घर भन्दा टाढा गएर उपचार गर्न नसक्ने नागरिकलाई निकै राहत भएको बताइन् । उनले भनिन्, ‘हाम्रो गाउँमा सबै सम्पन्न छैनन, अधिकाशं नागरिक खेती किसानी गरेरै खाने हुनुहुन्छ । यो उहाँहरुका लागि निकै राम्रो अवसर हो । यस्ता शिविरले निरन्तरता पायो भने, रोग पालेर कसैले पनि बस्नुपर्ने थिएन ।’
स्वास्थ्य शिविरमा १२३ जना पुरुष, ४३३ जना महिला गरी ५५६ जनाले सेवा लिएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले जानकारी दिए ।
