शनिबार, बैशाख ५, २०८३

‘छट्री’ : गीतमा चर्चित तर अस्तित्व संकटमा

धनगढी : पश्चिम तराईमा बर्सातसँगै ‘लगैबी बियार छट्री ओह्रके, छुपुक छुपुक’ भन्ने थारु गीत यतिबेला सामाजिक सञ्जालमा सर्वाधिक चर्चामा छ ।

गायक राज कुश्मी र सोनु कुश्मीको स्वरमा रहेको गीत चर्चामा रहेको बेला छट्रीको अस्तित्व भने संकटमा रहेको छ ।

आजभोलि बिरलैले छट्री बनाउँछन् र कमैले ओढेर बर्सात कटाउँछन् । अर्को शब्दमा छट्री लोप हुने अवस्थामा पुगेको हो ।

छट्री अर्थात छाता आदिवासी हस्तकला तथा प्रविधिको उच्चतम नमूना हो । जुन वर्षातको समयमा पानी र घामबाट बच्न घरेलु साधन स्रोतबाट निर्माण गरिन्छ । निर्माण गर्नलाई सीप दक्षता उत्तिकै जरुरी रहन्छ । जुन सीप र प्रविधि पुस्तान्तरण नहुनुले पनि छट्रीको अस्तित्व संकटमा परेको बताउँछन् कैलालीको नुक्लिपुर सामुदायिक होमस्टेका अध्यक्ष दिनेश दहित थारु ।

प्रयोग र निर्माणमा हुने असजताले पनि छट्रीलाई आधुनिक छाताले विस्थापित गरेको छ ।

तर छट्रीको प्रयोगकर्ता घट्दै गए पनि विभिन्न थारु संग्राहलय तथा होमस्टे सजावटको राम्रो साधन बनेको छ ।

होमस्टेकर्मी दहितले दैनिक जीवनमा छट्रीको प्रयोग कम भएपनि आफूहरु संरक्षणको अभियानमा रहेको र होमस्टेहरुमा छट्री सजावटको रुपमा राख्ने गरेको सुनाए ।

कैलारी गाउँपालिका–६ बेनौलीका स्थानीय भरथरी डगौराका अनुसार छत्री बाँस र नम्है्रन (एक प्रकारको वनस्पति) को पातको प्रयोगले निर्माण गरिन्छ । जसको लागि पातलो र लचकदार हुने गरी बाँसको चोइटोको व्यवस्था गरिन्छ ।

उक्त चोइटोलाई एकआपसमा बाँझिने गरी गोलाकार आकारको कभर बनाइन्छ । एउटा छत्री निर्माणको लागि दुई वटा एउटै आकारको कभर चाहिन्छ । छत्रीको माथिल्लो भागमा राखिने कभरलाई ‘पेर्री र तल तल राखिने कभर भागलाई ‘झेल्री’ भनिन्छ ।

कभर निर्माण गरिसकेपछि दुई वटा कभरको बीच भागमा पानी र हावा नछिर्ने गरी नम्ह्रैनको पात बिछ्याएर पातलो रसीले बाँधिन्छ ।
यसरी बनाइएको छत्रीको बीच भागमा टाउकोमा अड्याउन सजिलो होस भनी खोपिल्टो बनाइएको हुन्छ । यसरी बनाइएको छत्री टाउकोमा राखेर हलो जोत्नेलगायत अन्य कार्यमा प्रयोग हुन्छ ।

एक पटक बनाइएको छत्री दुई÷तीन वर्षसम्म प्रयोग गर्न सकिने बताइन्छ ।

यो पनि पढौँ