मङ्लबार, जेष्ठ १२, २०८३

थारु बस्ती हरडहुवामय, किन र कसरी मनाइन्छ ?

धनगढी : धान रोपाइपछि यतिबेला थारु वस्तीमा हरडहुवाको रौनक छाएको छ ।

रमाइलो गरी सामूहिक रुपमा खानपान गरी मनाइने हरडहुवा पर्वको रौनक छाएको हो ।

कैलाली जिल्लास्थित डंगौरा थारु, रानाथारु, कठरिया थारु वस्तीमा आजभोलि हरडहुवा, निमौनी र हरधोवाको रौनक छ ।

जिल्लाको कैलारी गाउँपालिका ६ बेनौलीका भलमन्सा पहलमान चौधरीले असार २१ गते गाउँभरिको सामूहिक हरडहुवा पर्व मनाएको जानकारी दिए ।

कैलारी गाउँपालिका २ कैलारी गाउँमा असार २७ गते हरडहुवा तय गरिएको स्थानीय दयाशंकर चौधरीले बताए । उहिल्यैदेखि सबैजना खेतीपातीको कार्य सकिएपछि हरडहुवा मनाउँदै आएको बताउँदै उनले सामूहिक खानपान, रमाइलो गरी मनाएको सुनाए ।

यी दुई गाउँमा मात्रै होइन, प्रायः सबै थारु गाउँमा आजभोलि हरडहुवाको रौनक छ ।

थारु बृद्धिजीवीहरुका अनुसार हरडहुवा तथा हरधोवाको शाब्दिक अर्थ हलो धुनु हो । जसको थारु समुदायमा आफ्नै मौलिक बिशेषता छ । धान रोपाइको क्रममा जानअन्जानमा किंरा फट्यांग्रा, सर्पलगायत जीव प्राणीहरु मारिने हुँदा पाप पखालिने मान्यताका साथ पनि हर जुवाको पूजा गर्ने र खानपान गरेर दुःख कष्ट मेटाउन हरडहुवा मनाइने प्रचलन रहेको हो ।

थारु अगुवा माधव थारुले भने, ‘हरडहुवा मनाइने प्रचलन उहिलेदेखि चल्दैआएको छ । खेतीपातीको कार्य सकिएपछि खुशीयालीको रुपमा पनि मनाइन्छ । शरीरिक थकान मेटाउनको लागि हरडहुवा मनाइन्छ ।’

हरडहुवाको थारु समुदायमा सांस्कृतिक र सामाजिक महत्व छ । सामूहिक रुपमा मनाइने हुनाले हरडहुवाको लागि दुना, टपरी गाँस्ने, पर्वको लागि बंगुरको जिटा मार्ने काम गरिन्छ ।

यो अवसरमा चेलीबेटी, इष्टमित्रहरुलाई पनि आमन्त्रण गरिने हुँदा थारु गाउँघरमा खुसयालीको माहोल छाएको हो ।

यो पनि पढौँ