धनगढी : आफ्नो जादुमयी कलाले निर्जीव चित्रमा प्राण भर्ने मनिष चौधरी सुदूरपश्चिम प्रादेशिक प्रतिभा पुरस्कारले सम्मानित भएका छन् ।
कैलालीको कैलारी गाउँपालिका वडा नं. ५ छोटी पलियाका २९ वर्षीय मनिष चौधरीलाई चित्रकला विधा अन्तरगत २० हजार नगद धनराशीसहित सम्मानित गरिएको हो ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आइतबार धनगढीमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमकाबीच सुदूरपरिश्चम सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्कामार्फत सम्मानित गरिएको थियो ।
को हुन् उनी ?
सानैदेखि चित्रकलामा रुचि रहेका चौधरी अहिलेसम्म सयौं जिवन्त चित्र कोरिसकेका छन् ।
गाउँको स्कुलमा कक्षा ५ मा अध्ययनरत रहेको बेला श्रोत केन्द्र स्तरीय चित्रकला प्रतियोगितामा भाग लिई प्रथम भए पश्चात मनिषको चित्रकलाको रफ्तारले गति लियो ।
उनको पुरै परिवार चित्रकलामा सौकिन छ । आमा, बुवा, दाई पनि चित्र कोर्नमा निकै अगाडि छन् । एक दशकदेखि चित्रकलामा लागेका उनी परिवारबाट उत्प्रेरित भएर चित्रकलामा लागेको बताउँछन् ।


उनले भने, ‘मेरो घरमा सबै जना नै चित्र कोर्नुहुन्छ । उहाँहरुबाट नै प्रेरित भएको हुँ । मलाई लाग्छ मेरो रगतमै चित्रकला छ । वंशाणुगत गुण नै हो जस्तो लाग्छ ।’
व्यावसायिक चित्रकलाको लागि भने उनी तालिम लिएर काम गर्दै आएका छन् । व्यावसायिक रुपमा एक दशकदेखि चित्रकलामा क्रियाशिल रहेको भनाइको छ ।

