मङ्लबार, बैशाख ८, २०८३

पूर्वमन्त्री चौधरीको फाइल महिनौंदेखि कानुन मन्त्रालयमै अड्काइयो, अप्रेसनको मिति सरेको सर्‍यै

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरी लामो समयदेखि जटिल स्वास्थ्य समस्यासँग जुझ्दैआएका छन् ।

दुबै मृर्गौला फेल भएपछि उनी दुई पटक मृर्गौला प्रत्यारोपण गराइसकेका छन् । अब तेस्रो पटक अप्रेसनको तयारीमा छन् ।

तर भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराउदै आएका उनको फाइल ४ महिनादेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीमा अड्काइएपछि आर्थिक अभावले उनको अप्रेसनको मिति सरेको सर्‍यै हुन थालेको छ ।

हप्तामा ३ पटकका दरले नियमित डायलसिस मात्रै गराउँदैआएका उनी अप्रेसनको तयारीमा थिए् । तर आर्थिक अवस्था झेलिरहेका पूर्वमन्त्री चाधरीको अप्रेसन हुन नसकेको हो ।

पूर्व सामाजिक मन्त्रीका साथै पूर्वउद्योगल मन्त्री रहेका चौधरीको एक हप्ताको डायलसिस खर्च मात्रै १८ हजार रुपैयाँ आउँछ । अस्पताललाई उदृत गर्दै पूर्वमन्त्री चौधरीले अबको अप्रेसन खर्च ७ लाख देखि ८ लाख लाग्ने जानकारी दिए ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १३ अनुसार उपचारको व्यवस्था रहेको छ । तर पहिलैका उपचारको बिल भुक्तानीको फाइल अगाडि बढ्न नसकेपछि उपचारमा समस्या भएको पूर्वमन्त्री चौधरीले गुनासो सुनाए ।

अस्पतालमै रहेका पूर्वमन्त्री चौधरीले भने, ‘अरुहरु कसरी औषधोपचार गराउँछन् ? सजिलै र छरितो ढंगले उपचार गराउँछन् । तर मेरो हकमा निकै जटिल छ । कहिले मेरो पाइल एक ठाउँमा अड्किन्छ, त कहिले अर्को ठाउँमा । प्रदेश सभा सचिवालयबाट पेश भएको फाइल महिनौं दिनदेखि आन्तरिक मामिला मन्त्रालयमै छ । कहिले टुंगो लाग्ने हो ठेगान छैन ।’

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले आफूहरुले प्रक्रिया अनुसारको फाइल आन्तरिक मामिला मन्त्रालयमा पठाइसकेको बताउँदै सो फाइल आर्थिक मामिला मन्त्रालयको सहमतिका साथै मन्त्रिपरिषदको निर्णय समेत चाहिने बताए ।

यसैबीच आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले आफूले पहिले नै पूर्वमन्त्रीको फाइल अगाडि बढाउन निर्देशन दिएको बताए । ‘पूर्वमन्त्री चौधरीको स्वास्थ्य अवस्था तथा उहाँको फाइलप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको हुँदा आज पुनः सो फाइलबारे बुझेर तत्काल अगाडि बढाउन भन्छु’, मन्त्री सार्कीले अक्षरल्याबसँग भने ।

पूर्वमन्त्री चौधरीका स्वकीय सचिव बालगोविन्द चौधरीका अनुसार उनको फाइल आन्तरिक मामिला मन्त्रालयबाट आर्थिक मामिला मन्त्रालयमा पेश गर्न बाँकी रहेको बताए । आर्थिक मामिला मन्त्रालयले सहमति जनाएपछि र मन्त्रिपरिषदबाट पनि स्वीकृति पाएपछि मात्रै आन्तरिक मामिला मन्त्रालयले सो फाइल पुनः प्रदेश सभा सचिवालयमा पठाउँछ र बल्ल उनी उपचार खर्च भुक्तानी पाउँछन् ।

अभिनयसँगै राजनीतिमा होमिएका उनमा २०६४–०६५ ताका थारु भाषाको ‘भुइचाल’ चलचित्र निर्माणको क्रममा मृर्गौलामा समस्या देखिएको थियो ।

पछिल्लो पटक भने उनीमा २०८१ जेठ २० गते मृर्गौलामा जटिल समस्या देखियो । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराएक उनी यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालका साथै नवजीवन अस्पतालमा डायलसिस गराए ।

२ पटक मृर्गौलाको अप्रेसन गराइसकेका पहिलो पटक २०६५मा अप्रेसन हुँदा उनलाई आफ्नै आमा सुरतकुमारी थरुनीले आफ्नो एउटा मृर्गौला दिएकी थिइन् । ०७२ मा अप्रेसन हुँदा उनकी कान्छी बहिनी असर्फी चौधरीले आफ्नो मिर्गौला दिइ जीवनदान दिइन् । पछिल्लो समय पनि मृर्गौलाले काम गर्न छोडेपछि उनी पुनः मृर्गौला ट्रन्सप्लान्टको तयारीमा जुटेका हुन् ।

कैलाली निर्वाचन क्षेत्र नं. १ (२) बाट नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

यो पनि पढौँ