धनगढी । सात लाख रुपैयाँ घुससहित डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको टोलीले सोमबार साँझ वन अधिकृत यादवलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।
आयोगको महेन्द्रनगरको कार्यालयबाट खटिएको टोलीले यादवलाई नगद घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
यादवको साथबाट घुसवापत लिएको नगद सात लाख ३१ हजार रूपैयाँ समेत बरामद गरिएको छ । यादवलाई अख्तियारको टोलीले धनगढीस्थित डिभिजन वन कार्यालयबाटै पक्राउ गरिएको जनाएको छ ।
यादव कर्मचारी सरुवा बढुवामा नेता र माथिल्लो कर्मचारी मिलाएर रकम उठाउनुका साथै सामुदायिक वनबाट छोड पुर्र्जी, कार्ययोजना, विधान बनाउने बेला नविकरण लगायतमा मोटोे रकम उठाउने गरेको गुनासो बढेको थियो ।
श्रोतका अनुसार यादवसहित थप एकजना जोडिएका छन् । एक लाख रकम बुझेका उनी फरार रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
