धनगढी : थरुहट/थारुवान राष्ट्रिय मोर्चाका कैलाली जिल्ला संयोजक माधव थारु एकाएक जिम्मेवारीबाट बाहिरिएका छन् ।
व्यक्तिगत र घरायसी कामको व्यस्ततालाई कारण देखाउँदै उनले दिवस तयारीको पूर्वसन्ध्यामै सहसंयोजक लौटन चौधरीलाई कार्यवाहकको जिम्मेवारी सुम्पिदै बाहिरिएका छन् ।
थरुहट/थारुवान राष्ट्रिय मोर्चाले प्रत्येक वर्ष भदौ ७ र ८ गते टीकापुर घटनालाई स्मरण गर्दै टीकापुरलगायत क्षेत्रमा विद्रोह दिवस मनाउँछ । यो वर्ष पनि दिवसको तयारी थालिएको छ ।
तर दिवस तयारीकै पूर्वसन्ध्यामा मोर्चाका संयोजक थारुले जिम्मेवारीबाट बाहिरिएपछि केही सवाल भने सतहमा आएका छन् ।
व्यक्तिगत र घरायसी कामको व्यस्ततालाई कारण देखाएका थारुले अक्षरल्याबसँग भने, आन्दोलनको औचित्यको सवाल तेर्साएका छन् ।
उनले भने, ‘नेताहरु सबै स्खलित देखिएका छन् । आ–आफ्नै दलको चौघेराबाट उठ्नै सकेनन् । जुनकारण थरुहट/थारुवानको राजनीतिक र पहिचानको सवाल दिनप्रति ओझेलमा परेको छ । अब पनि आन्दोलन र दिवसको औचित्य छ र भन्ने लाग्छ ?’
कतिपय राजनीतिक दलले थरुहट र पहिचानको मुद्दालाई सत्ता र कुर्सी प्राप्तिको भ¥याङ मात्रै बनाएको पनि थारुको कथन छ ।
यद्यपी थरुहट आन्दोलनको अग्र मोर्चामा देखिने थारुको जिम्मेवारीबाट बार्हिगनपछि मोर्चाको आगामी कार्यक्रम भने हेर्न बाँकी नै छ । उनी पुनः जिम्मेवारीमा फर्किन्छन् वा फर्किदैनन् वा उनको बर्हिगनले तत्विक असर पर्दैन । बहसको सवाल रहला । तर थरुहट र पहिचान आन्दोलनको उभार पछिल्लो समयमा घटेको कटु यथार्थ भने पक्कै हो ।
संविधान लेखन चलिरहँदा २०७२ ताका यहाँ २ परस्पर विरोधी अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलन उत्कर्षमा थियो । अखण्ड पक्षधरको माग मौजुदा सुदूरपश्चिामञ्चल विकास क्षेत्रलाई प्रदेश बनाइनुपर्ने र थरुहट पक्षधरको माग थारु बाहुल क्षेत्रलाई थरुहट बनाइनुपर्ने थियो ।
२०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भयो । १ नाबालकसहित ८ प्रहरीको ज्यान गयो । कफ्र्यू जारी भयो । सेना परिचालन गरियो । भोलिपल्ट भदौ ८ गते कफ्र्युका बीच तथा सेना र प्रहरीकै उपस्थितिमा थारु समुदायका घर, पसल, एफएमलगायत ८३ बढी संरचनामाथि आगजनि भयो । अन्ततः आन्दोलन नै शिथिल भयो । अर्कोतिर, थरुहट आन्दोलनको शिथिलताको मौका छोपेर कैलाली र कञ्चनपुरसहितको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई प्रदेश कायम गरियो ।
तर टीकापुर घटनापछि कानुनी उल्झनमा जकाडिएका थरुहट आन्दोलनकारीहरु राज्यबाट आफूहरुमाथि दमन र विभेद भएको भन्दै आज पनि उदेलित छन् ।
थरुहट भूगोल मागको त्यो थरुहट आन्दोलन र ‘टीकापुर घटना’ आज पनि सबैको मानसपटलमा आलो घाउ जस्तै छ । सोही परिघटनाको स्मरण गर्दै थरुहट थारुवान आन्दोलनकारीहरु विद्रोह दिवस मनाउँछन् ।

