धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको नाउपा पदाधिकारी तथा केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष श्रेष्ठलाई बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको हो ।
नाउपाका केन्द्रीय सदस्य तथा संसदीय दलका नेता गंगाराम चौधरीले बैठक बोलाउन पटक–पटक आग्रह गरेको तर कुनै सुनुवाई नगरेको बताए ।
बैठकमा २१ जना केन्द्रीय सदस्यमध्ये १२ जना हस्ताक्षर रहेको छ ।
पार्टी अध्यक्ष श्रेष्ठले २४ घण्टाभित्र बैठक नबोलाएको खण्डमा पार्टीको विधान तथा बहुमतको आधारमा निर्णय लिने पनि चौधरीले चेतावनी दिए ।
उनले भने, ‘उहाँले कहिल्यै बैठक राख्नुभएको छैन । उहाँ विवादमा मुझिएपछि पनि पार्टीको आधिकारिक धारणा के हुनेबारे पनि उहाँले स्पष्ट गर्नुभएको छैन । यो अवस्थामा हामीले बाहिर फेस गर्ने सवाल पनि रहन्छ । तर उहाँले बैठक राख्नुभएको छैन । अब यो अवस्थामा बैठक नभए हामी बहुमतको आधारमा अगाडि बढ्छौ ।’
उनलाई पार्टी विधानको दफा ४१ को उपदफा ६ अनुसार बैठक बोलाउन माग गरिएको छ ।


