काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता विवादमा पार्नुपर्ने विषय नै नभएको बताएकी छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफूलाई सदस्यताबाट वञ्चित गर्न कदापि नमिल्ने बताइन् ।
‘पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कारण छैन । नेपालको संविधान, ऐन र संवैधानिक अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गर्ने पार्टीको अपरिपक्व निर्णयले दुःखी बनाएको छ’, भण्डारीले पत्रकार सम्मेलनमा भनिन्, ‘यसले साख गिर्नेछ ।’ उनले आवेग र उत्तेजनाका भरमा गरिने यस्ता निर्णयले वास्तविकता छोप्न नसकिने भन्दै विवेकसम्मत निर्णय लिनुपर्छ भन्ने जबजको मर्म भएको बताइन् ।
उनले पार्टीले गरेको निर्णय वैध नभएको समेत बताइन् । उनले आफू पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेको भन्दै पार्टी प्रतिको निष्ठामा प्रतिबद्ध हुँदाहुँदै पार्टी सदस्यताबाट वञ्चित गर्न कदापि नमिल्ने बताइन् ।
उनले पार्टी बनाउन आफू लगायत हजारौँ नेता कार्यकर्ताकाे रगत पसिनाको मेहनत रहेको भन्दै यो कुरा भावनामा बगेर नभनेको बताइन् । उनले जबजले अघि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणको निष्ठापूर्वक रक्षा गर्न देशभरका एमाले पङ्क्तिलाई आग्रह समेत गरिन् । उनले आफ्नो निर्णयबाट विचलित समेत नहुने बताइन् ।
‘त्यसैले म सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात् गर्न र पार्टी निर्माणमा सक्रिय हुन आह्नवान गर्दछु’, भण्डारीको भनाइ छ । उनले जबजप्रतिको एमाले नेता कार्यकर्ताको निष्टाकै कारण पार्टीले सफलता हासिल गरेको भन्दै एमाले राष्ट्रिय निर्णायक शक्ति हुने विश्वास व्यक्त गरिन् ।
