मङ्लबार, जेष्ठ १२, २०८३

सुदूरपश्चिम सरकारले गलत तिथिमा दियो अट्वारी पर्व विदा, कहिले मनाइन्छ अट्वारी ?

धनगढी : सुद्ूरपश्चिम प्रदेश सरकारले गलत तिथिमा अट्वारी पर्वको विदा दिएको पाइएको छ ।

पश्चिम नेपालको तराईस्थित सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङ तथा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा बसोबास गर्ने थारु समुदायले अट्वारी पर्व विशेष रुपमा मनाउँछन्। सोही पर्वमा सार्वजनिक विदा दिदैआएको सुदूरपश्चिम प्रदेश सरकारले यसपालि फरक तिथिमा विदा दिएको पाइएको हो ।

सुदूरपश्चिम सरकारको प्रदेश राजपत्रमा साउन २५ गते आइतबारका दिन अट्वारी पर्वको विदा दिएको उल्लेख छ । जबकी थारु समुदायले मनाउने अट्वारी पर्व कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार अर्थात कृष्ण जन्माष्टमीपछि पर्ने शुक्लपक्षको पहिलो आइतबार मनाइन्छ । जुनअनुसार भदौ ८ गते अट्वारी पर्व परेको हो ।

गलत तिथिमा सार्वजनिक विदा उल्लेख गरेपछि थारु सम्बद्ध संघ, संस्था तथा थारु अगुवाहरुले मिति सच्याउन प्रदेश सरकारसँग माग गरेका छन् ।

कञ्चनपुरको बेलौरी नगर भलमन्सा समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै विदा सच्याउन माग गरेको छ । समितिका अध्यक्ष अमर सिंह चौधरी र सचिव विक्रम चौधरी हस्ताक्षरित विज्ञप्तिमार्फत भदौ ८ गतेका दिन बिदा कायम गर्न माग गरेका हुन् ।

त्यस्तै, संस्कृतिविद् डा. कृष्णराज सर्वहारीले सुदूरपश्चिम प्रदेश सरकारलाई थारु विज्ञ राख्न सुझाव दिदै प्रदेश सरकारले कृष्णजन्म अष्टमी भन्दा अगाडि बिदा दिएको भन्दै आपत्ति जनाए । थारु नागरिक समाज कैलालीका संयोजक दिल बहादुर चौधरीले पनि प्रदेश सरकारले त्रुटिपूर्ण गरिएको निर्णय सच्याएर भदौ ८ गतेको दिन सार्वजनिक विदा दिनु पर्ने माग गरे ।

यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले राजपत्रमा उल्लेख भएको मिति सच्याउने प्रक्रिया सुरु भएको जनाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले त्रुटि भएको थाहा भएपछि त्रुटि सच्याउन प्रक्रिया थालिएको जनाएको हो ।

अट्वारीको ऐतिहासिक महत्व
अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पण्डवमध्येका माइलो भाई भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेंवा’ को नामले थारु जातिले श्रद्धापूर्वक पूजाआजा गर्छन् ।

कुनैबेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेको किंवदन्ती रहेको छ । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मचाउने, दुःख दिने, चेलीहरुमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रहि आएको हो ।

अर्को किंवदन्ती अनुसार एक समयमा द्रोपतिसहित पाँच पाण्डवहरु सुर्खेतको काक्रेबिहार घुम्न पुगेका थिए । थारू राजा दंगीशरण र पाँच पाण्डवबीच निकै घनिष्टता बढेको थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे ।

बलवान र प्राक्रमी भीमले टावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरीका मानिसहरु टावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेन । अन्ततः भीमले राजा दंगीशरणलाई सहयोग पश्चात फर्केपछि मात्रै टावाको रोटी झिकेको भनाई छ । उक्त सहयोग गरेको दिन आइतबार परेकोले पनि अट्वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरु बताउाछन् ।

मनाउँने विधि र अग्रसनको महत्व
समान्यतयाः अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात ओजर्या (पूर्णिमा) मा पर्दछ । त्यो भनेको कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार हुन आउछ । जुनअनुसार चालु वर्ष भदौ ८ र ९ गते अट्वारी पर्व परेको हो ।

आइतबार भन्दा अघिल्लो राति (शनिबार) दर खाने र आइतबार आधा दिनसम्म ब्रत बस्ने गरिन्छ । ब्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ । तर सूर्यास्तपछि खानपान पुरै बन्द गर्नु पर्ने हुन्छ । त्यसपछि, सोमबार विहान्नै पूजापाठ अर्थात ‘फरहार’ गरिन्छ । बनाइएको विभिन्न परिकारहरुलाई दुई भागमा छुट्टाछुट्टै छुट्यान्छ । छुट्याएको भाग चेलीबेटीहरुलाई अग्रासन (कोसेली) स्वरुप दिनको लागि राखिन्छ भने एक भाग ब्रतालुहरुले उपभोग गर्नुपर्छ । जसलाई फरहार भन्ने गरिन्छ । भोजन ग्रहण पश्चात अग्रासन दिन जाने प्रचलन रहेको छ ।

उता विवाहित चेलीबेटीहरु माइती घरको अग्रसनको पर्खाइमा बसेका हुन्छन् । भनिन्छ, विवाहित चेलीहरु माइती घरबाट दाजुभाईले दिन जाने अग्रसनले नै आफ्नो भोक मेट्ने गर्दछन् । विभिन्न परिकारको पोकोसहित अग्रसन दिन जाने दाजुभाई दिदीबहिनीलाई विवाहित चेलीहरु मानसम्मान गर्ने उत्तिकै चलन थारु समुदायमा रहेको छ ।

यो पनि पढौँ