मङ्लबार, जेष्ठ १२, २०८३

‘गुरही’: धनगढीमा मुख्यमन्त्री र काठमाडौंमा पर्यटन राज्यमन्त्रीले गर्नेछन् उद्घाटन

धनगढी : गुरही पर्वको पूर्वसन्ध्यामा थारु बस्तीमा चहलपहल बढेको छ ।

गुरही पर्वमा चाहिने आवश्यक गुरही (गाइने किरा)को प्रतिमा, सोंटालगायत सामग्रीहरुको जोहो गरी तयारी थालिएको छ । भने त्यसकै अवसरमा गाउँघर सरसफाईका कार्यहरु पनि थालिएका छन् । नागपञ्चमीसँगै मनाइने गुरही पर्व साउन १३ गते परेको हो ।

यसैबीच कैलालीको कैलारी गाउँपालिका ८ लोहरपुरमा गुरही पर्वको पूर्वसन्ध्यामा गाउँ सरफाई गरिएको छ । स्थानीय रमेश चौधरीले सरसफाईसँगै बाटोको साइडमा फूल रोप्ने कार्य समेत गरिएको जानकारी दिए ।

कैलालीको कैलारी गाउँपालिका ६, बेनौलीका भलमन्सा पहलमान चौधरीले गुरही पर्व सामूहिक रुपमा मनाइने हुँदा कसरी सभ्य र भव्य ढंगले मनाउनेबारे गाउँको भेलामा छलफल गरेको बताए ।

कैलालीको धनगढी उपमहानगरालिका ८ क्याम्पस रोडस्थित गुरही चौकमा पनि भव्य रुपमा गुरही अस्रैना कार्यक्रम गरिने भएको छ । आयोजक सखी सञ्जालको अगुवाइमा विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा औपचारिक कार्यक्रम नै गरी गुरही मनाउने तयारी गरिएको संखी सञ्जाल कैलालीकी संयोजक उन्नती चौधरीले जानकारी दिइन् ।

आइतबार सबै पक्षसँग छलफल समेत गरेको सुनाउँदै सञ्जालकी संयोजक उन्नतीले साँस्कृतिक झाँकीसहित गुरही अस्रैना (सेलाउने) कार्यक्रम रहेको बताइन् ।

यसैबीच गुरहीको प्रतिमा अनावरण गर्ने कार्यक्रम समेत राखिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबाट सो प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

पछिल्लो केही वर्षयता संघीय राजधानी काठमाडौंमा बसोबास गर्दै आएका थारुहरुले भव्य रुपमा गुरही मनाउँदै आएका छन् ।

काठमाडौंको भृकुटी मण्डपमा चम्पन साँस्कृतिक समूहको नेतृत्वमा गुरही मनाउने तयारी थालिएको छ । गुरही अस्रैना कार्यक्रममा हजारौंको सहभागिता रहने बताउँदै समूहका अध्यक्ष नन्दुराज चौधरीले नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरीबाट कार्यक्रम उद्घाटन हुने जानकारी दिए ।

गुरहीको महत्व
गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख गुरही मनाइन्छ । यसको आफ्नै ऐतिहासिक, साँस्कृतिक र सामाजिक पक्ष रहेको छ ।

गुरही भनेको एक किसिमको गाइने किरा हो । यो पर्वमा कसैले गुरही–गुरहा, कसैले केटी–केटा वा दुलहा–दुलहीको प्रतीकको रुपमा कपडाको पुतला, खेलौना बनाउँछन् । हिन्दी भाषामा यस्ता पुतला, खेलौनालाई गुडिया भन्ने गरिन्छ । त्यही गुडिया शब्द थारु भाषाको उच्चारणमा गुरिया हुन पुगेको थारु नागरिक समाज कैलालीका संंयोजक दिलबहादुर चौधरी बताउँछन् ।

पर्वमा के–के गरिन्छ ?
नागपञ्चमीको दिनमा मनाइने यस पर्वमा थारु समुदायका घरहरुमा खुर्मा, बरिया (पुरीजस्तो) जस्ता परिकार तेलमा पकाइने गरिन्छ । घर–घरमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ । आफ्नै हैसियतअनुसार अन्य खानेकुरा पनि बनाइन्छन् । केटी र महिलाहरुले कपडाका टुक्राबाट रंगीचंगी गुरहीको पुतला बनाउने गर्दछन् ।

पुतलालाई पिट्न सोंटा बनाइन्छ । यो खासगरी केराको डाँठका साथै एक किसिको घाँस (रारा र मूँज)को प्रयोग गरी सुन्दर, रंगीचंगी सोंटा बनाइन्छ ।

पर्वको सूर्यास्त हुने बेलातिर युवती तथा महिलाहरु गुडिया (गुरिया) र घुघरी लिई आफ्नो भेषभूषामा सजिएर चौबाटो र चौराहामा पुग्छन् ।
केटाहरु तथा पुरुषहरु पनि आफ्नो भेषभूषामा सोंटा, कोर्रा लिई चौराहा (चौबाटो) पुग्छन् । युवती तथा बालिकाहरुले चौराहामा लगेका गुरहीका ती प्रतिमा फाल्छन् र केटाहरु सोंटा, कोर्राले पिट्छन् ।

युवतीहरु गुरिया (गुरही) फाल्ने बेला र केटाहरु पिट्ने बेलामा रोगब्याध नलागोस, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् । पिटिसकेपछि केटा वा पुरुषले केटी वा महिलासँग घुघरी अर्थात प्रसादको रुपमा लगिएको केराउको भुजा माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् ।

कतिपय गाउँमा पिटिएका यी गुरिया (गुरही) सडकमै चौराहामै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ ।

यो पर्व बालबालिकाको सहभागिताबिना अपूर्ण मानिन्छ । त्यसैले यसमा उनीहरुलाई सहभागी गराउनु अभिभावकहरु आफ्नो कर्तव्य ठान्छन् । कतिपय अभिभावक उनीहरुलाई बोकेरै सहभागी पनि गराउने गर्दछन् ।

यो पनि पढौँ