बिहिबार, बैशाख ३, २०८३

रञ्जिता श्रेष्ठले अपमान गरेको भन्दै नाउपा बहुमत सदस्यले बोलाए राष्ट्रिय भेला

धनगढी : नागरिक उन्मुक्ति पार्टीका बहुमत संस्थापक सदस्यहरूको बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ ।

आइतबार बानेश्वरमा बसेको बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठप्रति खेद व्यक्त गर्दै राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो । सो बैठकबाट उनीहरुले आफूहरुको अपमान समेत भएको निष्कर्ष निकालेका हुन् ।

बैठकमा सहभागी एक सदस्यले भने, ‘उहाँ (अध्यक्ष श्रेष्ठ)लाई इमेल, मोबाइल र ह्वाएपमार्फत बैठक बोलाउने विषयमा जानकारी गराए पनि उहाँले बेवास्ता गर्नुभयो । बहुमत सदस्यको मागलाई उहाँले अपमान गर्नुभयो । आजको बैठकले उहाँप्रति खेद प्रकट गर्दै राष्ट्रिय भेला बोलाउन निर्णय गरेको छ ।’

नाउपाले साउन १४ गतेका लागि राष्ट्रिय भेला आह्वान गरेको छ । संस्थापक सदस्यसमेत रहेका दामोदर पण्डितको अध्यक्षतामा बसेको बैठकले अर्का सदस्य रामलाल डंगौरा थारुको अध्यक्षतामा भेला गर्ने निर्णय गरिएको छ ।

बैठकमा दलका संस्थापक केन्द्रीय सदस्यहरू, निर्वाचित जनप्रतिनिधि तथा सांसदहरुलाई बोलाउने निर्णय गरिएको छ । बैठकमा संस्थापक २१ मध्ये १३ जना सहभागी थिए ।

नाउपा अध्यक्ष श्रेष्ठले आज मात्रै आफू निकट भनिएका पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएकी थिइन् ।

यसअघि नाउपाको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियाे । तर उनले सो अल्टिमेटमलाई वेवास्ता गर्दै कार्यवाहक दिएकी हुन् ।

यो पनि पढौँ