धनगढी : पश्चिम नेपालकाे थारु बस्ती गुरही पर्वले गुल्जार बनेका छन् ।
बालबालिकादेखि बृद्धबृद्धासम्ममा उत्साह छ । गुरही पर्वको दिन साउन १३ गते थारु बहुल क्षेत्रका स्थानीय तहहरुले सार्वजनिक विदा नै दिएपछि उमंग थपिएको हो ।
घर–घरमा गुरही पर्वमा चाहिने मकै, केराउको भुजाको जोहो गरिएका छन् । युवाहरु सोंटा र युवतीहरु गुरहीको प्रतिमा तयार पारेका छन् ।
गुरही पर्वको पूर्वसध्यामा गुरही अस्राउने (सेलाउने) गाउँको दक्षिणी चौकहरु सफा गरिएका छन् । गुरही स्थल रंगहरुले सजाइएका छन् ।
यसैबीच कैलालीको धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोडस्थित गुरही चौक पनि सफा गरिएको छ । अनावरणको पर्खाइमा रहेको गुरही अर्थात गुर्हानीया (गाइने किरा)को अग्लो प्रतिमालाई रंगहरुको कलात्मक संयोजनले जीवन्त बनाइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सखी सञ्जाललगायत संघ सस्थाहरुको सहकार्यमा सो प्रतिमा निर्माण गरिएको सखी सञ्जाल कैलाली संयोजक उन्नती चौधरीले बताइन् । मंगलबार साँझ गुरही अस्रैना कार्यक्रमका बीच मुख्यमन्त्री कमलबहादुर शाहबाट सो प्रतिमाका अनावरण गर्ने कार्यक्रम रहेको संयोजक चौधरीले जानकारी दिइन् ।
गुरही अस्राउँदा गाउँघरबाट रोगब्याधी हट्ने र अमनयचन कायम हुने थारु समुदायमा जनविश्वास रहेको छ ।








यो पनि पढ्नुहोस्
‘गुरही’: धनगढीमा मुख्यमन्त्री र काठमाडौंमा पर्यटन राज्यमन्त्रीले गर्नेछन् उद्घाटन
गुरही पर्वकाे अवसरमा कैलालीका ७ पालिकामा भाेलि सार्वजनिक बिदा
