सोम डेमनडौरा
पृष्ठभूमि
सर्वप्रथम गुरिया÷गुरही मान्नेहरुप्रति मेरो सद्भाव छ, सम्मान छ । यो लेखमा मेले गुरिया र गुरहीको शाब्दिक अर्थ खोज्ने तथा विश्लेषण गर्ने कोशिस गरेको छु । चाडपर्वको मुल्य मान्यता तथा संस्कृतिको सम्मान गर्दै यस पर्वको कथा र किंवदन्तीसँग जोडिएका प्रसंगको उठान गर्न खोजेको हुन्छ । यो लेखले कुनै व्यक्ति या समुदायमा कसैगरी आँच पुगेमा म बिनम्र पूर्वक क्षमा चाहन्छु ।
मेरो आशय पर्वको ओज घटाउने, पर्वलाई गलत देखाउने या पर्वको प्रशंसा गर्ने दुबै होइन । पर्वसँग जोडिएका मिथक बारे विश्लेषण गर्न खोजेको छु । यो लेख तयार गर्दा मैले साहित्यकार डा. कुष्णराज सर्वहारी, डा. गोपाल दहित, साहित्यकार छविलाल कोपिला, लेखक दिल बहादुर थारुद्धारा लिखित लेख, हिन्दी भाषाको अनलाइनमा प्रशारित सामग्री, नेपाली पात्रोमा उल्लेख गरिएको विषयवस्तु, विभिन्न अन्तरवार्ता र सामाचारहरुलाई आधार बनाएको छु ।
मानिस सामाजिक प्राणी हो र सामाजिक प्राणी भएकाले उनीहरुसँग समुदाय अनुसारको संस्कृति, संस्कार र परम्पराहरु रहेका हुन्छन् । मानव समाजलाई यिनै संस्कृति र संस्कारले एउटा अनुशासन र मुल्य मान्यतामा बाँधि रहेको हुन्छ । एक अर्का प्रति आदरभाव, सम्मान, माया, सद्भाव देखाउने क्रममा बिभिन्न संस्कारजन्य स.स्कृतिको विकास भएको पाइन्छ । यि संस्कृतिहरु पूजाको रुपमा, चाडपर्वको रुपमा, नाचगानको रुपमा, मन्त्रको रुपमा या बिभिन्न खेलको रुपमा प्रदर्शन गर्ने गरिन्छ ।
गुरिया अर्थात गुरही पर्व नेपाल र भारतका थारु, सोनाहा, कठरिया र अवधी समुदायमा मानिने पर्व हो । यद्यपि सबै थारुहरुले भने मनाउँदैनन् । सोनाहाहरुले भने विशेष रुपमा मनाउने गरेको पाइन्छ । गुरहीलाई बालपर्वको रुपमा पनि लिने गरिन्छ । यो पर्व साउन महिनाको शुक्लपक्षको पञ्चमीको दिनमा पर्दछ । यसैदिन हिन्दूहरुको नाग पञ्चमी पनि पर्दछ ।
शब्द र यसको अर्थ
यो लेख लेखिरहँदा विशेष गरेर यि शब्दहरुमा छलफल गर्नैपर्छ । गुर्या, गुरिया, गुरही, गुर्हि ।
गुर्या/गुरियाः गुरियालाई छिटो उच्चारण गर्दा गुर्या हुन आउँछ । थारु भाषामा गुरिया भन्नाले दुइटा अर्थ लाग्ने गर्छ । गुरिया भन्नाले महिलाहरुले घाँटीमा लगाउने पाते र अवधी शब्द गुडियालाई थारु भाषामा गुरिया उच्चारण गरिन्छ ।
गुरहीः डा. कृष्णराज सर्वहारी, छविलाल कोपिला, दिल बहादुर थारुका अनुसार गुरही भन्नाले गुडिया (Doll) र गाइने किरा (Dragon Fly) दुबै अर्थ लाग्दछ ।
गुर्हिः दंगौरा मुलका थारुहरुले गाइने किरालाई गुर्हि भन्ने गर्दछन् ।
गुरिया या गुरहीलाई पिट्नुको मान्यता तथा किम्बदन्तीहरु
साहित्यकार छविलाल कोपिलाको अनुसार (डा. कृष्णराज सर्वहारी र डा. गोपाल दहितले समेत यहि मिथकलाई समर्थन गर्नुहुन्छ):
उहिलेको जवानामा नरकमा विभिन्न किसिमका किराहरूको संख्या बढ्यो र रोगहरू पनि फैलियो । रोगका कारण मान्छेहरूको अकालमा मृत्यु हुन थाल्यो । स्वर्गलोकका देउताहरू पनि आश्चर्य चकित परे र सबै कुरा बुझ्नका लागि एक दूतलाई पृथ्वीलोकमा पठाए । उनी एक साधारण परिवारमा जन्म लिइन् । उनको बाल्यकाल निकै रमाइलोसँग बित्यो । तर उनको भाउजूले निकै दुःख दिन्थिन् ।
उनलाई खाने कुरा पनि दिदैन थिइन् । तर उनी सहेर बस्थिन् । उनलाई आमाले भने निकै माया गर्थिन् । उनी स–साना बालबालिकाहरूसँग खुब खेल्न मन पराउँथिन् र उनीहरुसँग खेल्थिन् पनि । उनी निकै माया पनि गर्थिन् । उनलाई बालबालिकाहरूले पनि निकै माया गर्थे । उनी कपडाका खेलौना ‘गुडिया’ खुब मन पराउँथिन् । उनी निकै जिज्ञासु स्वभावकी पनि थिइन् । यसकारण रोग र रोग सार्ने किराहरूको कुराको बारेमा समयमै जानकारी पाइन् ।
एक दिन आफूले खेलाउने ‘गुरही’ जस्तै किराको उत्पत्ति गरिन् । कालान्तरमा त्यसलाई गुरही भन्न थाले । जसले मच्छर, भुस्ना लगायत शुक्ष्म किराहरूलाई खाने र मार्ने गर्न थाले र रोगव्याधीहरू पनि कम भयो । यता मान्छेहरूमा अकालमा मृत्यु रोकियो । समाजमा शान्ति छाएपछि उनी फेरि स्वर्गलोक जानू पर्ने भयो । उनीसँगको उठ बसले उनका बालसखाहरू यति मोहित भइसकेका थिए कि उनलाई कुनै हालतमा पनि जान नदिने जिद्दी गर्न थाले । तर, उनी जानै पर्ने भएकोले कसैले रोक्न सकेन र जाने बेलामा गाउँका सबै बालबालिकाहरूले उपहार स्वरूप गुडिया र बाटोमा भोक लागे खानको लागि चना लगायतका खाने कुरा दिएर बाजा सहित बिदाई गरे । बिदाईमा उनकी भाउजूले आफ्नो छोरालाई गुडिया खोस्न पठाएकी थिएन । तर उनलाई पठाउन गएका बालिकाहरूले चना दिएर खुशी बनाएर फर्काई दिए र उनलाई गाउँको सीमानासम्म स–सम्मान बिदाई गरे र सबै बालबालिकाहरू फर्किन्छन् । उनी बाटो लाग्छिन् । घर छोडेर आउँदा डेहरी मुनी लुकाएर राखेको गुरही र आमालाई राखी दिन आग्रह गर्दै यसरी बिरह पोख्छिन् ।
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
डेहरिक गोराटिर बैठहिं मोर गुरहि ।
एक्लै बाटो हिड्दा थकाई महसुस गर्छिन् इमलीको रुखमुनी बसेर उनी आफ्नो गुडिया र आमालाई सम्झिन्छन् र भावनामा यसरी गुनगुनाउँछिन् ।
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
अमलिक रुखवाटिर बैठहिं मोर गुरहि ।
यस्तै जाँदा जाँदै असना (साज) भन्ने रूखमुनी बसेर थकाई मार्न थाल्छिन् र फेरि सम्झिन्छिन् र यसरी बिरह पोख्छिन् ।
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
असनक रुखवाटिर बैठहिं मोर गुरहि ।
त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिडिसकेपछि फेरि गुल्लरको रुखमुनि बसेर फेरि आफ्नो बिरह पोख्छिन्,
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
गुलरिक रुखवाटिर बैठहिं मोर गुरहि ।
यसरी उनी धेरै ठाउँमा आफ्नो घर, आमा, साथी–संगी, गुडिया सम्झिदै अनि भाउजूले निकै दूख दिएको सम्झिदै उनी स्वर्गलोकमा हाजिर हुन्छिन् ।
हामीले हाम्रो चाडपर्वको मिथकलाई प्रमाणित गर्ने खालको, तार्किक बनाउन आवश्यक छ । यहाँ यो चाडपर्व हाम्रो होइन भन्ने कदापी होइन । तर हाम्रो भन्ने बनाउनका लागि हाम्रो आफ्नै मौलिक र तार्किक मिथक, किम्बदन्ती हुन आवश्यक छ । हामीले प्रस्तूत गरिने कथामा तर्क भएन भने हाम्रा चाडपर्व, धर्म, संस्कारहरुलाई आधारहिन बनाइने छ । हाम्रो संस्कार र संस्कृतिलाई कमजोर रुपमा हेरिने छ ।
माथिको मिथकमा गुडिया र गुरही दुबै शब्द प्रयोग भएको पाइन्छ । उनले कपडाको गुडिया निक्कै मन पराउने गरेको प्रसँग र गीतमा गुरहीको मायाको प्रसँग जोडिएको छ । भावार्थमा गुरही भन्ने गाइने किराको अर्थ लाग्दैन । यसमा गुरही भन्नाले गुडियाकै अर्थ लाग्ने गर्छ । मिथकमा गुडिया र गुरहीको प्रसँग आएको भएता पनि गुहरी किन पिटिन्छ भन्ने कतै खुलाएको छैन ।
कोपिलाजी लेख्नुहुन्छ, ‘गुरही’ पर्व एक ‘गुरही’ नामको किरासँग जाडिएको छ । गुरही एक प्रकारको उड्ने किरा हो । यसले मच्छर, भुस्ना लगायत शुक्ष्म किराहरूलाई खाने गर्छन् । यिनीहरूको संरक्षणले मच्छर (लामखुट्टे) र भुस्ना लगायत किराहरूको कमी हुने रोगव्याधी कम लाग्ने बैज्ञानिक धारणा छ । र यिनै किराहरूको पूजाले विभिन्न किसिमका रोग व्याधीहरू कम हुने जनविश्वास पनि थारू समुदायमा छ ।
गाइने किरा गुरहीको महत्वबारे उल्लेख छ तर यस पर्वमा गुरही (गाइने किरालाई कसरी पूजिन्छ ? कुन रुपमा पूजिन्छ कतै उल्लेख गरिएको छैन । यसर्थ, गुरही पर्वमा गाइने किराकै पूजा हुन्छ भन्ने तथ्य भेटाउन सकिदैन । गुरही भन्नाले गुडियालाई नै भन्न खोजिएको अर्थ लाग्दछ ।
डा. कृष्णराज सर्वहारीजी आफ्नो लेखमा उल्लेख गर्नु भएको छ, गुरही किराबाट ‘गुरही’ पर्व नामाकरण भएको हो । भालेलाई गुराहा तथा पाथीलाई गुरही भनिन्छ । गुरही अस्राउन कपडाको गुरहन्या बनाउँदा पनि गुरही र गुराहाको अलग अलग आकार बनाइन्छ ।
लामो पुच्छर भएको उड्ने किरा गुरहीलाई नेपालीमा गाइने किरा भनिन्छ । यसले लामखुट्टे लगायत बालीनालीका लागि अन्य हानीकारक किराहरु खाएर किसानहरुलाई सहयोग गर्छ । हानीकारक किरा खाएर अन्य रोगव्याधी लाग्न नदिन भूमिका खेल्ने भएकाले गुरही किराको पूजास्वरुप गुरही पर्व मनाउन थालिएको थारु समुदायको जनविश्वास छ ।
प्रस्तूत लेखमा तिनै गुरहीलाई पूजा गरिएको उल्लेख छ । त्यहि गुरही किरालाई अस्राउने कुरा उल्लेख छ । वहाँले आफ्नो लेखनीमा भन्नुहुन्छ, अवधी समुदायको गुडिया पर्वसँग थारु समुदायको गुरही केही मिल्दोजुल्दो छ । तिनले पनि थारु समुदाय झैं कपडाको गुरही बनाएर पूजा गर्ने गर्दछन् ।
१३ अगष्ट २०२४ मा बीर बहादुर थारुले लिनु भएको अन्तरवार्तामा डा. कृष्णराज सर्वहारीजीले गाइने किराको प्रतिक गुरही भएको र त्यसैलाई पिट्ने गरेको कुरा बताउनु भएको छ ।
तर उहाँहरुले प्रस्तूत गरेको मिथक अनुसार गुरहीको पूजा गरिएको छैन । बरु गुडिया बनाएर पिट्ने गरिएको कुरा उल्लेख गरिएको छ । हिन्दीमा प्रस्तूत एक मिथक यस्तो छ :-
यह कहानी भाईबहन से जुड़ी हुई है । भाई भगवान शंकरका परम भक्त था और वह उनका दर्शन करने रोजाना मंदिर जाता था, जहां पर उसे एक नागदेवता के दर्शन भी होते थे । वह बालक उन्हें रोज दूध पिलाता, जिससे दोनों को एक दूसरे से बहुत लगाव हो गया । इनका प्यार इतना गहरा हो गया है कि जब वह लड़का मंदिर आता तो सांप अपनी मणि छोड़कर उसके पैरों से लिपट जाता ।
वहीं, जब वह सावन माह के दौरान अपनी बहन के साथ मंदिर पहुंचा, तो नाग फिर से अपने प्यार को प्रकट करने के लिए उस लड़के के पैरों से लिपट गया । इस दृश्य को देखकर उसकी बहन डर गई कि वह सांप उसकी भाई को काट रहा है, क्योंकि उसे इसके पीछे की असली वजह नहीं पता थी ।
अपने भाई की जान बचाने के लिए लड़की ने नाग को पीट–पीट कर मार डाला । इसके बाद जब भाई ने पूरी कहानी सुनाई तो लड़की परेशान होकर रोने लगी, जब इस घटना की जानकारी लोगों को हुई तो सभी ने तय किया कि नाग देवता का रूप होते हैं, इसलिए दंड मिलना तो निश्चित है, लेकिन यह गलती से हुआ है इसलिए कालांतर में लड़की की जगह गुडि़या को पीटा जाएगा और तभी से गुडिया पीटने की परंपरा का पालन अभी तक हो रहा है ।
यहि मिथक लेखक दिल बहादुरले पनि आफ्नो लेखमा उल्लेख गर्नु भएको छ । यो मिथकमा पर्वको तार्किकता एकदमै निकट र बलियो देखिन्छ । किनभने गुरिया तथा गुरही पर्वमा न कुनै गाइने किराको पूजा गरिन्छ न त गाइने किरालाई पिटिन्छ । पिटिन्छ त केवल गुडिया (गुरही) लाई । यति उपयोगी गुरही (गाइने किरा) लाई पिट्ने कुरामा लेखक दिल बहादुरले पनि असहमति जनाउनु हुन्छ ।
हामी एकातिर आफुलाई प्रकृतिपूजक भनेर मान्दैछौं भने अर्कोतिर अप्रत्यक्षरुपमा गुरही (गाइने किरा) लाई पनि पिटेको देखाउँदै छौं । हामीले संकलन गरेका मिथकहरु पर्याप्त छैनन् भनेर बुझ्नु पर्छ । या त तार्किकता दिन सकेको छैन भन्ने कुरा स्विकार्नुपर्छ ।
यदि गुरही (गाइने किरा) लाई नै पूज्ने गर्छौैं भन्ने तर्क नै बनाउने हो भने पनि गुरही (गुडिया) र गुरही (गाइने किरा) बिचको कथान्तर स्पष्ट गर्नुपर्छ । पर्वमा गाइने किराको महत्व, मिथक, कथा, पूज्ने तरिकालाई उल्लेख गर्नुपर्छ । होइन भने थारु समुदायले गुरही (गाइने किरा) लाई पिट्ने गर्छन् भन्ने अर्थ दिनेछ ।
यसै सन्दर्भमा जुलाई ९, २०२१ को नेपाली पात्रोमा सुदन भट्टराई उपाध्यायले लेख्नु भएको छ,
नेपाल भर विभिन्न स्थानमा, त्यसमा पनि तराइका थारु समुदायको बसोबास रहेको स्थानहरूमा श्रावण शुक्ल पक्षको पञ्चमी तिथि वा नाग पञ्चमीको दिन गुरही पर्व मनाउने गरिन्छ ।
गुरही, पातलो पखेटा भएको पुतली जस्तै देखिने एक किसिमको उड्ने किराको नाम हो, जसलाई नेपालीमा गाइने किरा भनिन्छ । कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र देउखुरी जस्ता स्थानहरूमा भने यो किरालाई गुरही भन्ने गरेको पाइन्छ । दाङ तिर यस किरालाई झिङ्गौरा पनि भन्दछन् । थारु समुदायमा भने गाइने किरालाई अशुभ एवं दुस्मनको प्रतीकको रूपमा हेर्ने गरिन्छ ।
यस लेखमा गुरहीलाई दुश्मनको रुपमा प्रस्तूत गरिएको छ ।
सारांश
हामीले हाम्रो चाडपर्वको मिथकलाई प्रमाणित गर्ने खालको, तार्किक बनाउन आवश्यक छ । यहाँ यो चाडपर्व हाम्रो होइन भन्ने कदापी होइन । तर हाम्रो भन्ने बनाउनका लागि हाम्रो आफ्नै मौलिक र तार्किक मिथक, किम्बदन्ती हुन आवश्यक छ ।
हामीले प्रस्तूत गरिने कथामा तर्क भएन भने हाम्रा चाडपर्व, धर्म, संस्कारहरुलाई आधारहिन बनाइने छ । हाम्रो संस्कार र संस्कृतिलाई कमजोर रुपमा हेरिने छ ।
ठाउँ अनुसार कतै गुरिया, कतै गुडिया त कतै गुरही भनिन्छ होला यसमा कुनै विवादको विषय होइन । मेरो आफ्नो बुझाइमा गुरही भनेको गाइने किरा होइन, गुरही भनेको गुरिया (गुडिया) नै हुनुपर्छ । गाइने किरालाई प्रायः गुर्हि भन्ने गरिएको सुनिएको छ ।
अन्त्यमा, गुरही तथा गुरिया पर्वको अवसरमा यहाँहरु सबैलाई हार्दिक शुभकामना ।
