धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।
अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको हो ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई अनुशासन समितिले कारबाही गर्ने निर्णय गरेको थियो । मंगलबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको एक जना संस्थापक केन्द्रीय सदस्यले बताए ।
आइतबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले अध्यक्ष श्रेष्ठ चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । अध्यक्ष श्रेष्ठ चौधरीले स्पष्टीकरण नबुझाएपछि कारबाही गर्ने निर्णय गरिएको ती सदस्यले बताए ।
स्पष्टीकरण सोध्नुअघि पनि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएकी अध्यक्ष श्रेष्ठ चौधरीलाई केन्द्रीय समिति बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यहरूले ९ गते शुक्रबार २४ घण्टे अल्टिमेटम दिएका थिए । तर अध्यक्ष श्रेष्ठ चौधरीले भने वेवास्ता गर्दै आएकी थिइन् ।
पार्टी नेताहरूका अनुसार तीन सदस्यीय अनुशासन समितिमा रामलाल डगौरा थारु संयोजक, पुन्नबहादुर बुढा र सुनिता चौधरी सदस्य छन् ।
आइतबारकै बैठकले आज बुधबारका लागि राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको थियो । सोही अनुसार यति बेला नागरिक उन्मुक्ति पार्टीको भेला चलिरहेको छ । बैठकमा संस्थापक केन्दैीय सदस्य र निर्वाचित जनप्रतिनिधिहरू सहभागी छन् ।
