धनगढी : कैलालीको ग्रामीण भेगमा अझै नगहर गुरुवा समूह (विष चुस्ने तान्त्रिक) मार्फत झारफुक विधिमार्फत सर्प दंशको उपचार गर्ने परिपाटी विद्यमान रहेको छ ।
जिल्लाका विभिन्न सरकारी अस्पताल तथा स्वास्थ्य चौकीहरुमा सर्प दंशको उपचार सर्वसुलभ हुन नसक्नु र पहिलैदेखि झारफुकमै विश्वास गर्ने परिपाटीले कायमै रहेको हो ।
थारु गाउँका नगहर गुरुवाहरुले आफ्नो अस्तित्व कायम रहेको जनाउ गर्दै नाग पञ्चमकीका दिन विशेष पुजा समेत गरेका छन् ।
कैलारी गाउँपालिका ८ लोहरस्थित नगहर गुरुवाहरुले नागपञ्चमीका दिन विहान आफ्ना नाग देवताहरुको पूजापाठ सकाएर साँझपख तान्त्रिक खेल प्रर्दशन गरेका थिए ।
कैलारी गाउँपालिकाकै वडा नं. ६ बेनौलीमा पनि सर्प डसेपछि झारफुकबाट उपचार गर्दैआएका गुरुवाहरुले विशेष पूजा गरेका छन् ।
नगहर समूहका सदस्य समेत रहेका भलमन्सा पहलमान चौधरीले एक वटा बोका, ५ वटा कुखुराको बली दिई पूजा गरेको जानकारी दिए ।
उनका अनुसार बली दिनेसहितको पूजा हरेक तीन वर्षको अन्तरालमा गर्दै आएका हुन् ।
कैलारी गाउँपालिका–२ लकडका गुरुवा रामप्रसाद पछलडंग्याले जिल्लाको लकड, बसौटी, बेनौली, बनकट्टा, गोबरैया, भुइयाँफाँटा, दुधिया, पृथ्वीपुर, टप्पा, जोशीपुरलगायत ठाउँमा संगठित रुपमा नगहर गुरुवाहरु सक्रिय रहेको बताउँछन् ।
उनले दाबी गर्दै भने–‘हामी ५० वर्ष पहिलैदेखि बिष चुसेर विरामीलाई निको पार्दै आएका छौ, जति बिषालु सर्पले डसे पनि समयमा आएका विरामीहरुको उपचारको ग्यारेन्टी हामी गर्छौ ।’
बेनौली गाउँस्थित नगहर गुरुवाका अगुवा तेजराम चौधरीले आफुहरु ०४२ सालदेखि बिष चुस्ने काम गर्दै आएको र हालसम्म संयौ बिरामीको उपचार गरेको दाबी गर्छन् । गाउँघरमा सर्प दंशका विरामी अस्पताल नगई आफुहरु कहाँ आउने गरेको उनको भनाइ छ ।
गुरुवा पछलडंग्याका अनुसार कैलाली जिल्लामा २ सय वढी बिष चुस्ने नगहर गुरुवाहरु सक्रिय छन् ।
जिल्लामा सर्प दंशका विरामीहरुको उपचार हुने अस्पताल नभएको होइन् । तर ती अस्पताल तथा उपचार केन्द्र सहरी तथा सुगम क्षेत्रमा मात्रै केन्द्रीत हुनु र अस्पतालमै उपचार गराउनुपर्छ भन्ने जनचेतनाको कमीले गर्दा पनि ग्रामीण भेगमा गुरुवाबाट बिष चुस्ने काम भैरहेको पाइन्छ । जसले गर्दा धेरैले ज्यान गुमाएको पाइन्छ ।
हाल कैलालीको सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर अस्पताल, मालाखेती अस्पताल अत्तरिया, बडैपुरस्थित सेनाको राष्ट्रिय विकास गण दल व्यारेकमा सर्पदंशको उपचारको व्यवस्था रहेको जनाइएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले सर्प दंशको उपचारको लागि ‘एन्टी स्नेक भेनम’को प्रयोग हुने हुँदा सरकारले सरकारी अस्पतालहरुमा निःशुल्क एन्टी स्नेक भेनम उपलब्ध गराउँदै आएको बताए । सर्प दंशका बिरामीलाइर्् स्वास प्रस्वासको समस्या हुने हुँदा भेन्टिलेटर उपलब्ध भएको अस्पतालमा उपचार हुने कमर बताउँछन् ।
झारफुकको भर पर्दा धेरैले अकालमा ज्यान गुमाइरहेकोले गाउँघरमा सचेतना फैलाउनुपर्नेमा जोड डाक्टर कमरको छ ।
नगहर गुरुवाहरुको पूजा र शक्ति प्रदर्शन
