धनगढी : सरकारले चालू आव २०८२÷२०८३ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नाम परिवर्तन गरेको छ ।
६ पुस २०७३ देखि सरकारले देशभर लागू गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नाम परिवर्तन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालू आवदेखि परियोजनाको नाम परिवर्तन गरी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कायम गरेको हो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका सूचना अधिकारी डा. जीत बहादुर चन्दले सरकारको निर्णयपछि साउन पहिलो सातादेखि नयाँ नाम कायम भएको जानकारी दिए ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका देशका विभिन्न स्थानमा ४८ वटा फिल्ड कार्यालयको रुपमा कार्यक्रम कार्यान्वयन इकाईहरु रहेका छन् ।
कार्यक्रमले कृषि आधुनिकीकरण तथा यान्त्रीकरणको लागि धान, गहुँ, मकै, तेलहन, माछालगायत क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । साथै उद्यमशिलतासँग सम्बन्धित कार्यक्रम पनि गर्दै आएको हो ।
यसैबीच कार्यक्रम कार्यान्वयन इकाईहरुले विभिन्न कार्यक्रमहरु सञ्चालनको लागि सूचना आह्वान समेत गरिसकेका छन् ।
कार्यक्रमका प्रमुख जिल्ला कैलाली जिल्लामा पनि सञ्चालन गरिने कार्यक्रमहरुको सूचना प्रकाशन गरिएको कार्यक्रम कार्यान्वयन इकाई कैलालीका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत गोविन्दराज जोशीले जानकारी दिए ।
इकाई प्रमुख जोशीले चालू वर्ष कैलालीमा ६ करोड ५४ लाख ४१ हजार बराबरको कार्यक्रम रहेको बताउँदै कार्यक्रम अन्तरगत माछा जोन, गहुँ सुपर जोन, धान जोन, तेलहन जोन, उद्यमशिलता विकास कार्यक्रम, राँगा भैसी प्रवद्र्धन कार्यक्रम रहेको जानकारी दिए ।
