धनगढी : नागरिक उन्मुक्ति पार्र्टी (नाउपा)को राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
बिहीबार काठमाडौंमा बसेको भेलाले रञ्जिता श्रेष्ठलाई हटाउँदै लालवीरलाई अध्यक्ष चयन गरेको हो ।
लालवीर चौधरी नाउपाका संरक्षक रेशम चौधरीका बुबा एवं प्रतिनिधिसभा सदस्य हुन् ।
अध्यक्ष चयन भएपछि चौधरीले पार्टीलाई विधि र पद्धतिअनुसार अगाडि बढाउने प्रतिक्रिया दिएका छन् । उनले पार्टीभित्र निकास निकाल्नका लागि आफू गम्भीर रहेको भन्दै आफ्ना कुराहरू पार्टीमा राख्न रञ्जिता श्रेष्ठलाई सुझाव समेत दिएका छन् ।
रञ्जिता श्रेष्ठले डेढ वर्षदेखि पार्टीको बैठकसमेत नराखेको र त्यसका कारण पार्टीका गतिविधि अवरुद्ध भएकाले राष्ट्रिय भेलामार्फत निकास निकाल्ने प्रयास गरेको उनको भनाइ छ ।
उनले भने, ‘अध्यक्षको जिम्मेवारी पाइसकेपछि कमिटीको सल्लाह, सुझाव र विधि पद्धति अनुसार नाउपालाई अगाडि बढाउँछु । हामीले उहाँ (रञ्जिता)लाई पार्टीमा आएर आफ्नो कुरा राख्न सुझाव सल्लाह दिइरहेका छौं । डेढ वर्ष भयो उहाँले बैठक नबोलाएको । तर, रुपन्देहीको उपनिर्वाचनमा उम्मेदवारी दिनुपर्ने भएकाले विधानसम्मत हामीले भेला गरेका हौं । भेलाबाट निकास दिन खोजेका हौं। उहाँलाई अझै भन्छु, बैठकमा आएर नेता, कार्यकर्तालाई फेस गर्नुस् ।’
