धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले थारु जातिको मौलिक पर्व अट्वारीको लागि गलत तिथिमा दिइएको सार्वजनिक विदाको पछाडि थारु कल्याणकारिणी सभा (थाकस) कैलाली र कञ्चनपुरको भूमिका रहेको खुलेको छ ।
थाकसले नै गलत तिथि मितिसहित विदाको लागि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीलाई पत्रचार गरेपछि सो मन्त्रालयले सोही पत्रको आधारमा गलत मितिमा विदा दिएको थियो । मन्त्रालयले प्रदेश राजपत्रमा साउन २५ गते अट्वारी विदा भनेर उल्लेख गरेको छ ।
जबकी, अट्वारी पर्व भदौ ८ गते आइतबार परेको हो । मन्त्रालयका उपसचिव आमोद दाहालले भने, ‘हामीले थाकसको पत्रलाई आधार मान्यौ । र, फरक मितिमा विदा परेको रहेछ ।’
थाकस कैलाली सभापति वीरबहादुर थारु र कञ्चनपुर सभापति सानु चौधरीले संयुक्त रुपमा मिति २०८१/१२/६ गते मन्त्रालयलाई प्रेषित पत्रको तपसिलमा उल्लेख छ, ‘अट्वारी पर्व : कृष्ण जन्माष्टमी (अष्टिम्की) पर्वपछिको दोस्रो आइतबार २०८२/४/२५ गते ।’

फोटो स्रोत : आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढी
उसो त, अट्वारी पर्व कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार नै पर्छ । तर थाकसलाई २०८२ सालको पात्रोमा कृष्ण जन्माष्टमीको मितिमा दुविधा हुँदा गलत मिति समावेश गर्दै अट्वारीको विदा सिफारिस गरेको पाइएको हो ।
थाकस कैलाली सभापति थारु भन्छन्, ‘मोबाइलको एपमा हुने पात्रो हेर्दा कृष्ण जन्माष्टमी अर्कै मितिमा देखियो । त्यसैलाई आधार मान्दा विदामा फरक परेको हो ।’
विदाको मितिमा फरक परेपछि विदाको मिति सच्याउन प्रक्रिया थालिएको छ । थाकस कैलाली र कञ्चनपुरले छुट्टाछुट्टै पत्रचार गर्दै अट्वारी विदाको मिति सच्याउन माग गरेका छन् । भदौ ८ गते आइतबारका दिन विदा माग गर्दे थाकसले मिति सच्याउन माग गरेको हो ।


फोटो स्रोत : आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढी
आन्तरिक मामिला मन्त्रालयका उपसचिव दाहालले मिति सच्याउनको लागि मन्त्रालयबाट टिप्पणी उठाइसकेको थप प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
यो पनि पढ्नुहोस्
सुदूरपश्चिम सरकारले गलत तिथिमा दियो अट्वारी पर्व विदा, कहिले मनाइन्छ अट्वारी ?
