सोमवार, बैशाख ७, २०८३

सुदूरपश्चिम लगानी सम्मेलन : ४५ परियोजना पहिचान, १८ कानुन संशोधनको तयारी !

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भनिएको प्रदेश लगानी तथा विकास सम्मेलनका लागि ४५ वटा प्रारम्भिक परियोजना पहिचान गरिएको छ ।

स्थानीय तह, निजी क्षेत्र, एसियाली विकास बैंक (एडीबी), प्रदेशका मन्त्रालयबाट सिफारिस भइ आएका ४५ वटा प्रारम्भिक परियोजनाहरु पहिचान गरिएका हुन् ।

परियोजना पहिचान तथा विकास उपसमितिका सदस्य समेत रहेका प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनारले कृषि, ऊर्जा, पर्यटन, उद्योग, शिक्षा, सूचना प्रविधि, वनलगायत विभिन्न क्षेत्रबाट योजनाहरु पहिचानको कार्य भइरहेको जानकारी दिए । जसको बारेमा विस्तृत अध्ययन अनुसन्धान भइरहेको र अध्ययनपछि टुंगो लगाइने बताए ।

आउँदो मंसिर १ र २ गते हुने सम्मेलनको तयारीकै क्रममा लगानीकर्ताहरुलाई आकर्षित गर्न १८ वटा मौजुदा ऐन, कानुन र नियमावलीहरु संशोधन गर्नुपर्ने समेत औल्याइएको छ ।

सम्मेलनका विज्ञ सदस्य दिलिप भट्टले लगानीमा देखिने कानुनी जटिलतालाई सामान्यीकरण गर्नुपर्ने बताउँदै जसको लागि तत्काल १८ वटा ऐन, कानुन, नियमावलीहरु संशोधन गर्नुपर्ने औल्याए ।

लगानी प्रवद्र्धन गर्न नयाँ ऐन समेत बनाउनुपर्ने बताउँदै भट्टले सार्वजनिक नीजी साझेदारी तथा लगानी ऐन बनाउनुपर्ने आश्यकता औल्याए ।

त्यस्तै, निजी लगानीकर्ताहरुलाई एकद्धार प्रणालीमार्फत सेवा दिन प्रदेश लगानी प्राधिकरणको गठन गर्नुपर्ने भएको हुँदा त्यसको तयारी पनि थालिएको परियोजना पहिचान तथा विकास उपसमितिका सदस्य सुनारले बताए ।
सम्मेलनमार्फत प्रदेशलाई लगानीको आकर्षक गन्तव्य स्थलका रूपमा विकास गरी प्रदेशको आर्थिक र सामाजिक रुपान्तरणमा टेवा पु¥याउने उद्देश्य प्रदेश सरकारको छ ।
सम्मेलन तयारीकै क्रममा गत जेठ २१ गते धनगढीमा पूर्व तयारी सम्मेलन समेत गरिएको छ ।

५ वटा उपसमिति
सम्मेलन तयारीलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति समेत गठन गरिएका छन् ।

परियोजना पहिचान तथा विकास उपसमिति गठन गरिएको छ । जुन समितिमा सांसद चक्र मल्ल र नृपबहादुर नुसार रहेका छन् ।
नीति तथा कानुन अध्ययन एवं सिफारिस उपसमितिमा सांसद डा. तारा जोशी, डा. हिरा चन्द रहेका छन् । लगानीकर्ता पहिचान तथा समन्वय उपसमितिमा पूर्व मन्त्री नरेशकुमार शाही, डा. जीवन राना रहेका छन् । प्रचार प्रसार उसमितिमा सांसद शिवसिंह ओली र शेरबहादुर भण्डारी रहेका छन् ।

त्यस्तै, प्रदेश स्तरीय लगानी क्षेत्र समन्वय उपसमितिमा सांसद विक्रमसिंह धामी र कर्ण बहादुर कुँवर रहेका छन् ।
तयारीको लागि विभिन्न उपसमिति बनाइए पनि तयारी नपुगेको भन्दै सम्मेलनको मिति पनि पटक–पटक सारिँदै आइएको छ । यअघि असोज १ र २ गते गर्ने भनिएको थियो । तर पछि मंसिर १ र २ गते कायम गरियो ।

उसो त गत वर्ष २०८० फागुन २३ र २४ गते धनगढीमा गर्ने भनेर सम्मेलनको तयारी गरिएको थियो । तर आवश्यक तयारी नपुगेका भन्दै सम्मेलन सार्ने निर्णयसहित स्थगित नै गरियो ।

यो पनि पढौँ