धनगढी : कैलालीको सुखडमा आयोजना हुने संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियानमा भाग लिन महन्थ ठाकुर धनगढी पुगेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष रहेका ठाकुर शुक्रबार नै धनगढी पुगेका हुन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले भोलि शनिबार घोडाघोडी नगरपालिका १ सुखडस्थित घोडाघोडी बहुमुखी क्याम्पसको सभा हलमा वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान कार्यक्रम आयोजना गरेको छ ।
सो कार्यक्रममा भाग लिन धनगढी आइपुगेको नाउपाका नेता एवं प्रतिनिधि सभा सदस्य गंगाराम चौधरीले बताए । मोर्चाका अन्य नेताहरु शनिबार पुग्ने बताइएको छ ।
कार्यक्रममा नाउपा संरक्षक रेशमलाल चौधरी, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनता प्रगतिशील पार्टी अध्यक्ष हृदयेश त्रिपाठी, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, तमलोपा अध्यक्ष वृषेशचन्द्र लाललगायतका नेताहरु सहभागी हुने बताइएको छ ।
यसैबीच कार्यक्रममा संयौंको संख्यामा सर्वसाधारणको उपस्थिति रहने बताइएको छ । नाउपाले कार्यक्रममा उपस्थितिको आफ्ना नेता, कार्यकर्ता र सर्वसाधारणलाई अपिल समेत गरेको जनाइएको छ ।
