धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कैलाली जिल्ला कारागारमा भएको कुटपिटबाट मृत्यु भएकाको परिवारलाई ५ लाख उपलब्ध गराउने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको प्रदेश सुरक्षा समिति बैठकले कारागारमा कुटपिटबाट ज्यान गुमाएका भरत चौधरीको परिवारलाई ५ लाख दिने भएको हो ।
साउन २३ गते कैदीबन्दीबीच भएको झडपमा मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश सरकारले कारागार व्यवस्थापन र सुरक्षा सुधारका लागि ११ बुँदे निर्देशन जारी गरेको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको निर्देशनमा मृतकको परिवारलाई सहयोग उपलब्ध गराउने र घाइतेहरूको निशुल्क उपचार गर्ने उल्लेख गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा प्रदेश सुरक्षा समितिका सदस्य आमोद दाहालद्वारा जारी विज्ञप्ति अनुसार कारागारमा हेलोजन लाइट र सिसि क्यामेरा समेत जडान गरिने भएको छ ।
त्यस्तै कारागार प्रशासन, जिल्ला प्रशासन कार्यालय, प्रहरी र सम्बन्धित निकायलाई तत्काल प्रभावकारी व्यवस्था मिलाउन आग्रह गरिएको छ।
निर्देशनमा घटनाको विस्तृत प्रतिवेदन तयारी, घाइतेको उपचार, मृतकको पोस्टमार्टम, कारागारभित्र थप प्रहरी सुरक्षा, भीड व्यवस्थापन, सम्भावित दङ्गा नियन्त्रण योजना, कैदीबन्दीको स्वास्थ्य परीक्षण, मनोपरामर्श, खानपान र बसोबास सुधार, क्षमता वृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण र नियमित अनुगमनजस्ता बुँदाहरू समावेश छन् ।
मन्त्रालयले कारागारमा १५५ जनाको क्षमता भए पनि हाल ६१९ जना कैदीबन्दी रहेको उल्लेख गर्दै भीडकै कारण सुरक्षा चुनौती बढेको निष्कर्ष निकालेको छ। यसका लागि क्षमता अनुरूप कैदीबन्दी राख्ने र अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने निर्देशनसमेत दिएको छ।
साथै जारी गरिएको विज्ञप्तिमा सबै निकायलाई तत्काल समन्वय गरी व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

