धनगढी । कैलालीको धनगढीमा घर–घरमा पुगेर तरकारी बिक्री गर्ने किसानहरु सम्मानित भएका छन् ।
कृषि ज्ञान केन्द्र कैलालीले घर–घरमा पुगेर स्वच्छ तरकारी बिक्री गर्ने किसानलाई सम्मान गर्दै उनीहरूलाई आवश्यक पर्ने सामाग्री समेत वितरण गरेको छ ।
कृषि ज्ञान केन्द्रले ३० जना किसान महिलाहरुलाई साइकल र तरकारी तौल गर्ने तराजु पनि प्रदान गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापामार्फत वितरण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए ।
प्रमुख बिष्टले घर दैलोमै पुगेर तरकारी बेच्दै आएका ३० जना महिला किसानहरुलाई सम्मान तथा साईकल, तराजु र तरकारी राख्ने भाडा उपलव्ध गराएको जानकारी दिए ।
सम्मान पाउने मध्ये २४ जना एकल महिला, एक जना दीर्घरोगी र ५ जना विपन्न महिलाहरुलाई छनोट गरिएको थियोे । केन्द्रले किसानहरूलाई सम्मान स्वरुप परिचय पत्र समेत प्रदान गरेको छ ।
